मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

इफाप्काको ४५औँ सम्मेलन माल्दिभ्सको राजधानी मालेमामा सुरु

इफाप्काको ४५औँ सम्मेलन माल्दिभ्सको राजधानी मालेमामा सुरु


मालेमा । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (इफाप्का) को ४५औँ सम्मेलन माल्दिभ्सको राजधानी मालेमामा सुरु भएको छ । ‘संरक्षणसहित निर्माण—अझ सम्मुन्नत विश्व निर्माण गरौँ भन्ने नारासहित सुरु भएको सम्मेलनमा इफाप्कामा आबद्ध १९ मुलुकका निर्माण व्यवसायी आबद्ध छन् ।

सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले गोर्खा भूकम्प र कोभिड—१९ का कारण जोखिममा परेको नेपाली निर्माण उद्योगले विस्तारै गति लिइरहेको जानकारी दिएका छन् । 

 
अध्यक्ष सिंहले विभिन्न चुनौतीका बाबजुद नेपाली निर्माण उद्योगले गति लिइरहेको बताए । नेपालमा नौ सय मेगावाटका अरुण दोस्रो र अपर कर्णाली जस्ता जलविद्युत परियोजना, २ हजार ६ सय ८० मिटर लामो सुरुङमार्ग जस्ता महत्त्वपूर्ण परियोजना निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष सिंहले जानकारी दिए । 
 
नेपालले सन् २ हजार ३० सम्ममा मध्यम आय भएको राष्ट्रको रुपमा स्तरोन्नति भई दिगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य लिएको प्रष्ट पारे । मौसम परिवर्तनको असर सामना गर्ने नेपाल पनि एक प्रमुख राष्ट्र भएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष सिंहले हरित पूर्वाधारको विकासलाई नेपालले प्राथमिता दिएको जानकारी गराए । 
 
पूर्वाधार विकासमार्फतको आर्थिक विकास प्रक्रियाप्रति नेपालका राजनीतिक दलहरूको बलियो प्रतिबद्धता रहेको र सोहीअनुसार ऐन नियम तर्जुमा भइरहेको उनको भनाइ थियो । रुस—युक्रेन युद्धबाहेक जग्गा प्राप्तिमा हुने झमेला, साइट क्लियरेन्सको समस्या, निर्माण सामग्रीको अभाव, मूल्य वृद्धि, दक्ष तथा प्राविधिक जनशक्तिको अभावलगायतका आन्तरिक समस्या नेपाली निर्माण उद्योगले सामना गर्नु परिरहेको उनले अवगत गराए । 
 
नेपालमा हाल १७ हजारभन्दा बढी निर्माण कम्पनी दर्ता भइसकेको र १५ लाखभन्दा बढी यस उद्योगमा आबद्ध रहेको तथ्याङ्क उनले प्रस्तुत गरे । ४६औँ इफाप्का सम्मेलन अबको १२ देखि १८ महिनाभित्रमा दिगो पूर्वाधारमा साझेदारी भन्ने नारासहित काठमाडौँमा आयोजना हुने जानकारी पनि उनले गराए । 
 
४५औँ सम्मेलनको समाप्तिसँगै महासंघका अध्यक्ष सिंह नै इफाप्काको अध्यक्षसमेत छन् । इफाप्का महासचिवको जिम्मेवारी भने महासंघका सल्लाहकार वीरेन्द्र पाण्डेले सम्हाल्ने छन् । 
 
सन् १९५६ मा स्थापना भएको इफाप्कामा हाल नेपालको तर्फबाट देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ आबद्ध रहेको छ । नेपालले सन् १९९३ मा ईफाप्काको सदस्यता लिएको हो । इफाप्काको ३०औँ सम्मेलन सन् १९९९ मा नेपालमा भएको थियो ।