अमेरिका अत्यधिक महँगी, अन्तर्राष्ट्रिय परिस्थितिलगायतले अमेरिकाको मध्यावधि चुनावमा राष्ट्रपति जो बाइडेन आबद्ध पार्टी डेमोक्र्याटिकले हार्छ भन्ने थियो । बाइडेन कमजोर भएका कारण पुरानो पार्टी रिपब्लिकनको पक्षमा लहर आउँछ भन्ने थियो । यो भएन । डेमोक्रयाटिक पार्टीले आफ्नो पक्षमा प्रतिकूल अवस्था हुँदाहुँदै पनि रिपब्लिकनलाई कयौं ठाउँमा रोक्न सफल भयो ।
यो चुनावको प्रमुख मुद्दा अमेरिकाभित्र अर्थतन्त्रको सञ्चालनमा केन्द्रित थियो । उपभोग्य वस्तुको मूल्य उच्च छ । बैंक ब्याजदर निकै माथि चढेको छ । युक्रेन संकट, चीन र अन्य विश्वसँगको अमेरिकाको सम्बन्धमा बाइडेन प्रशासनका काम पनि मुद्दाका रुपमा उठेका थिए । यो चुनावमा यिनै मुद्दामा व्यापक बहस भएका थिए ।
हाउस अफ रेप्रिजेन्टेटिभ अर्थात् कंग्रेसको सिटमा अहिलेसम्म आएको नतिजाअनुसार रिपब्लिकन पार्टीले २०९ स्थानमा जितेको छ । यसअघि डेमोक्र्याटिक पार्टीले जितेका १६ स्थानमा रिपब्लिकन पार्टीका उम्मेदवारको जित भएको छ । केही स्थानमा तीव्र प्रतिस्पर्धाका कारण नतिजा तय भएको छैन । त्यसैले अहिलेसम्म दुवै पार्टीको बहुमत देखिएको छैन । बहुमत ल्याउन २१८ चाहिन्छ ।
डेमोक्र्याटिक पार्टीले भने अहिलेसम्म १९१ स्थानमा जितेको छ । यो जितमा पहिले रिपब्लिकन पार्टीले जितेका ४ सिट उसले लिएको छ । यो गणितले कंग्रेसमा रिपब्लिकन पार्टीको सामान्य बहुमत आउने देखिन्छ ।
माथिल्लो सदन सिनेटमा अझै प्रतिस्पर्धा छ । ४९ सिट रिपब्लिकन र ४८ सिट डेमोक्र्याटिक पार्टीका पक्षमा गएको छ । ३ सिटको नतिजा आउन बाँकी छ ।
यो नतिजाले ह्वाइट हाउसलाई केही राहत मिलेको छ । महँगीलगायत अर्थतन्त्रका सवालमा धेरैको नजरमा बाइडेन असफल थिए । तर, राजनीतिका पुराना खेलाडी बाइडेनले पनि केही चुनावी निर्णय गरे । विद्यार्थीले लिएको २० हजार डलरसम्म ऋण माफी गर्नेलगायतका निर्णयले बाइडेनलाई फाइदा गर्यो । यही कारण युवा मतदाताले बाइडेनलाई सघाए ।
यो निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सक्रिय भएका थिए । तर, यसअनुसार नतिजा भने उनले निकाल्न सकेनन् ।
अब अमेरिकाको राजनीति २०२४ को राष्ट्रपति निर्वाचनतिर सोझिएको छ । पार्टीभित्र यसका लागि आन्तरिक तयारी हुन थालेका छन् । डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीमा उम्मेदवार र मुद्दाका बारेमा बहस हुन सुरु भएको छ ।
यो निर्वाचनमा नेपाली समुदायको पनि उत्साहजनक सहभागिता थियो । स्टेट प्रतिनिधिमा २ जना नेपाली अमेरिकीले जित हात पारे । केही स्थानमा नेपाली समुदायले सघाएका उम्मेदवारले जिते ।
यो पनि पढ्नु होला : Bhojani and Meza’s victory boosted the Nepali community’s aspirations
यो पनि पढ्नु होला : अमेरिकामा भण्डारीसहित नेपाली मूलका दुई सांसद विजयी












प्रतिक्रिया