मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

बैंकले व्याज बढाउँदा चितवनका व्यवसाय धराशायी हुने अवस्थामा

बैंकले व्याज बढाउँदा चितवनका व्यवसाय धराशायी हुने अवस्थामा


चितवन । बैंकले व्याजदर बढाउँदा जिल्लामा रहेका व्यावसायिक क्षेत्र धराशायी बन्दै गएका छन् । कोभिडका कारण थलिएका व्यावसायिक क्षेत्र अहिले बैंकका कारण पलायन हुने अवस्थामा पुगेको व्यवसायी बताउँछन् । 
 
दुई वर्षअघि कम्तीमा सात प्रतिशतदेखि बढीमा १२ प्रतिशतसम्म व्यावसायिक क्षेत्रको व्याजदर रहेकामा अहिले यो बढेर १२ देखि १७ प्रतिशतसम्म पुगेको छ । यसले गर्दा व्यवसायी पलायन हुने अवस्थामा पुगेको पर्यटन व्यवसायी सुमन घिमिरेले बताए ।
 
क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वध्यक्षसमेत रहनुभएका घिमिरे बैंकले व्याज बढाउँदा त्यो हिसाबले व्यवसाय गर्नसक्ने अवस्था नरहेको बताउँछन् । उनले भने, “व्यापार गरेर कमाएर व्याज तिर्नसक्ने अवस्था अहिले छैन ।” व्यावसायिकरुपमा हेर्दा पर्यटन क्षेत्रमा बैंकले बढाएको व्याज दर सान्दर्भिक नभएको उनको भनाइ छ । राज्यले यस विषयमा नसोच्ने हो भने बैंकबाट ऋण लिएर व्यवसाय गर्न कठिन हुने अवस्था आएको उनले बताए । 
 
सरकारले लगानीमा सहुलियत दिनुपर्ने उनको भनाइ छ । उनले थपे, “अहिले जिल्लामा रहेको पर्यटन व्यवसाय धराशायी हुने अवस्थामा छ ।” जिल्लामा पर्यटन व्यवसायमा रु १५ अर्बभन्दा बढी लगानी भएको उनले बताए ।
 
तीन वर्ष यता जिल्लाका सबै व्यवसाय धराशायी बन्दै गएको उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष एवं पोल्ट्री व्यवसायी तिलचन्द्र भट्टराईले बताए । कोभिड सुरु भएदेखियताको समय व्यावसायिक क्षेत्र नराम्रोसँग गिजोलिएको उनको भनाइ छ । पोल्ट्री क्षेत्रमा चितवन र नवलपुरमा मात्रै बैंकिङ क्षेत्रको लगानी रु १० देखि १२ अर्ब रहेको उनले बताए । 
 
उनले भने, “बैंकिङ क्षेत्रले व्याजदर वृद्धि गर्दा ८० प्रतिशत पोल्ट्री व्यवसायी बन्द हुने अवस्थामा पुगेको छ ।” पोल्ट्रीको राजधानीका रुपमा चिनिएको चितवनमा अहिले कतिपय व्यवसायीले जग्गा बिक्री गरेर बैंकको ऋण तिर्न बाध्य भएको उनले जानकारी दिए । राज्यको तर्फबाट बैंक व्याजदर घटाउन पहल नहुने वा सहुलियतामा व्याज नदिने हो भने पोल्ट्री व्यवसाय मात्रै नभएर अन्य व्यवसायी पनि पलायन हुने अवस्था आउने भट्टराईले बताए । 
 
उनले भने, “बैंकले मात्रै कमाउने नीतिका साथ अघि बढ्दा अन्य व्यवसायी मारमा परेका छन् ।” राज्यले नीतिमा नै परिवर्तन गरेर व्यवसाय बचाउन लाग्नुपर्ने उनको भनाइ छ ।
 
उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले व्याजदरका कारण व्यवसाय धराशायी बन्दै गएको बताए । बैंकको असहजताले असोजपछि कतिपय व्यवसाय बन्द हुने उनले बताए । उनले भने, “नियमनकारी निकायको उदासीनताका कारण समस्या आएको हो ।” राष्ट्रबैंकले पहिलाको अवस्थामा व्याजदर ल्याउन नसके जिल्लाका ५० प्रतिशत व्यवसायी धरासायी बन्ने उनले बताए ।
 
उनले भने, “अहिले व्यवसायीलाई चिठ्ठी काट्ने, ताकेता गर्ने गर्दा व्यवसायी हतोत्साही हुने गरेका छन् ।” उत्पादित वस्तुको मूल्यमा वृद्धि हुनु र उभपोक्ताको क्रयशक्ति कम हुनुलेसमेत यसमा असर देखिएको उनको भनाइ थियो । व्यावसायिक क्षेत्रमा देखिएको समस्या समाधानका लागि राष्ट्रबैंकले ध्यान दिनुपर्ने उनले बताए ।  
 
बैंकको व्याजदरका कारण पुराना व्यवसाय बन्द हुने र नयाँ व्यवसाय सञ्चालनमा आउन नसक्ने अवस्थामा रहेको उनले जानकारी दिए । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बैंकले व्याज बढाउँदा हरेक क्षेत्रको मूल्य वृद्धि भएको बताए । 
 
व्याजदरले चालू पुँजी र लगानीको पुँजीमा समेत असर गरेकाले बजारमा उपभोग्य वस्तुको मूल्य वृद्धि भएको बताए । बैंकको व्याजदर वृद्धि हुँदा व्यवसाय बन्द हुने अवस्थामा मात्रै नपुगेर अर्थतन्त्रमा समेत प्रभाव पारेको उनको भनाइ छ । 
 
राज्यले बैंक नाफामा जानुपर्छ भन्ने नीति लिएका कारण सबै व्यावसायिक क्षेत्रमा नकारात्मक प्रभाव परेको उनले बताए । व्याजदर घटाउने विषयमा उद्योग वाणिज्य महासङ्घमार्फत सरकारसँग समन्वय गरिएको बताए ।