मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

जलविद्युत् र पर्यटनमा लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

जलविद्युत् र पर्यटनमा लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेसियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेसियाका राजदूतलाई आग्रह गरेका छन् ।  
 
मंगलबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपालका लागि इन्डोनेसियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले सो आग्रह गरेका हुन् । 
 
“प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत् तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेसियाको लगानी भित्र्याउन र नेपालको हिमाली पर्यटनलाई इन्डोनेसियाका पर्यटकबीच प्रवर्द्धन गर्न आग्रह गरे”, प्रधानमन्त्रीलाई उद्धृत गर्दै सो भेटमा सहभागी नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । 
 
सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेसियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेशियाको सरकारलाई आग्रह पनि गरे । 
 
प्रधानमन्त्री देउवाले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपाल भ्रमणका लागि राजदूत सुबोलोमार्फत इन्डोनेसियाली जनतालाई आग्रह गरेको ढकालले जानकारी दिए । 
 
उक्त भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाका लागि आफू सकारात्मक रहेको र प्रधानमन्त्रीको यो सन्देश इन्डोनेशियाली सरकारसमक्ष पु¥याउने बताए ।  
 
राजदूत सुबोलोले कूटनीतिक तथा सरकारी राहदानीबाहकलाई भिसा सहजीकरणका लागि दुई देशबीच छिट्टै सम्झौता हुने बताए । आगामी अक्टोबरमा इन्डोनेसियामा आयोजना हुने ‘ट्रेड एक्स्पो’ प्रवर्द्धनका क्रममा राजदूत सुबोलोले नेपाल र इन्डोनेशियाबीच द्विपक्षीय व्यापार तथा लगानीका लागि भूमिका निर्वाह गर्ने बताए । रासस