मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

उद्योगी, व्यवसायीका समस्या हल गर्न सरकार गम्भीर छ : गृहमन्त्री खाण

उद्योगी, व्यवसायीका समस्या हल गर्न सरकार गम्भीर छ : गृहमन्त्री खाण


सिद्धार्थनगर । गृहमन्त्री बालकृष्ण खाणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन् ।  
 
नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशको चौथो प्रदेशसभा अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै मन्त्री खाणले उद्योगी व्यवसायीका लागि आवश्यक सबै प्रकारका सेवा र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।   
 
उनले मुलुकको पर्यटन उद्योगको विकास र विस्तारका लागि सरकारले चौबिसै घन्टा सेवा दिनेगरी काम अघि बढाइने पनि बताए । उनले भने, “पोखरा, काठमाडौँ, झापा, चितवन, भैरहवालगायतका पर्यटकीय सहरमा चौबिसै घण्टा होटल रेष्टुरेन्ट सञ्चालन हुने र आवश्यक सेवा दिनेगरी काम गर्ने वातावरण सरकारले मिलाउनेछ ।” 
 
उनले मुलुकको पश्चिम क्षेत्रको विकासका लागि सरकारले विशेष प्राथमिकता दिएको बताउँदै सिद्धबाबामा सुरुङ र दाउन्ने सडकको विस्तारको कामलाई सरकारले प्राथमिकता राखेको बताए । 
 
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालमा अन्तःशुल्कको प्रयोग गलत भएको बताउँदै कच्चापदार्थमा यस्तो शुल्क लिन नहुने धारणा राखे । 
 
महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक सङ्घीयतामा जाँदा तीन तहका सरकारको सहयोग र समन्वयबाट मुलुकको विकास हुने अपेक्षा निजी क्षेत्रले गरेको तर निजी क्षेत्रले सोचेजस्तो तीन तहका सरकारबाट समन्वय हुन नसकेको बताए ।  
 
उनले राज्यले उद्योगीले भोगिरहेका समस्याको समाधान गरी सबै व्यवसायीलाई ढुक्क भएर लगानी गर्ने वातावरण बनाउन आग्रह गरे ।  
 
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विद्युतीय समस्या नै लुम्बिनी प्रदेशका उद्योगको मुख्य समस्या भएको बताए । उनले बुटवल पाल्पा सडकखण्डको जोखिमले पनि उद्योगलाई नोक्सान पु¥याउँदै आएको बताए ।  
 
सो कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीले बुटवल मोतिपुर औद्योगिक क्षेत्र, नेपालगञ्ज औद्योगिक क्षेत्रको व्यवस्थापन जरुरी तथा गुल्मीको कफी, रोल्पा रुकुम र प्युठानको जडीबुटीको औद्योगिकरणमा राज्यले ध्यान दिनु आवश्यक रहेकामा जोड दिएका थिए ।  
 
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले लुम्बिनी प्रदेश लगानीकर्ताका लागि महत्त्वपूर्ण क्षेत्र भएको भन्दै उद्योगी व्यवसायीलाई लुम्बिनीमा लगानी गर्न आह्वान पनि गरे ।