मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

सुक्खा बन्दरगाहलाई आयात होइन निर्यातको केन्द्र बनाउने सङ्कल्प गर्नुपर्छ : अर्थमन्त्री शर्मा

सुक्खा बन्दरगाहलाई आयात होइन निर्यातको केन्द्र बनाउने सङ्कल्प गर्नुपर्छ : अर्थमन्त्री शर्मा


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले चोभार सुक्खा बन्दरगाहलाई आयातको नभई निर्यातको केन्द्र बनाउने सङ्कल्प गर्नुपर्ने बताएका छन् । रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्र नेपालका लागि जोखिम हो भन्दै उहाँले बन्दरगाह निर्यातको केन्द्रविन्दु बन्नुपर्ने उल्लेख गरे ।  
 
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा मंगलबार उद्घाटनपछि आयोजित समारोहमा अर्थमन्त्री शर्माले खाद्य वस्तु र कृषिमा आधारित वस्तुहरु यही बन्दरगाहमार्फत आयात गर्नुभन्दा त्यसलाई घटाउँदै निर्यात गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए । 
 
उनले श्रम र प्राकृतिक स्रोतलाई पूँजीमा बदलेर आत्मनिर्भरतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । यसका लागि निजी क्षेत्र र सहकारीसँग सहकार्य गर्न सरकार तयार रहेको उनले बताए ।  
 
बन्दरगाह मंगलबार उद्घाटन भएसँगै सडकमार्फत सिधैँ समुद्रबाट काठमाडौँ जोडिएको र यसले व्यापार सहजीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको विश्वास छ । मन्त्री शर्माले लागत र समयका दृष्टिकोणले थप उपलब्धि हासिल भएको स्पष्ट पारे । 
 
समारोहमा आयात निर्यातको तथ्याङ्क प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले फागुन मसान्तसम्म वैदेशिक आयात रु १३ खर्ब आठ अर्बको रहेको र यो अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको बताए । निर्याततर्फ आठ महिनामा रु एक खर्ब ४७ अर्बको निर्यात भएको जानकारी दिँदै उनले अघिल्लो वर्षको भन्दा केही सुधार भएको बताए । 
 
उनले यसबाट कूल वैदेशिक व्यापारको हिस्सामा १० दशमलव ४१ प्रतिशत हुनु न्यून हो भने । कोभिड–१९ ले एउटा शिक्षा दिएको समयमा रुस र युक्रेनको युद्धले पनि नेपाली अर्थतन्त्रमा गहिरो रुपमा चुनौती थपिएको मन्त्री शर्माको भनाइ थियो । 
 
फागुन मसान्तसम्म रु नौ खर्ब ४० अर्बको सञ्चिति रहेको र यसले ६ महिनाका लागि माल वस्तुको खरिद गर्न सकिने अवस्थामा मुलुक रहेको उनले उल्लेख गरे । केही चुनौती आउन सक्छन् भनेर सतर्कता अपनाएको उनले बताए । रेमिट्यान्स चार प्रतिशत ऋणात्मक रहेकामा अहिले ३ प्रतिशत धनात्मकमा आएको उनले जानकारी दिए । रासस