मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

भारतको रक्सौलबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुन्छ : मन्त्री यादव

भारतको रक्सौलबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुन्छ : मन्त्री यादव


नकपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले भारतको रक्सौलबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुने बताएकी छन् । जनकपुरधामस्थित रेल्वे स्टेशनमा शनिबार आयोजित जयनगर–कुर्था रेल सेवा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भारतको रक्सौलबाट सिमरा र सिमराबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुने बताइन् । 
 
“पहिलो चरणमा जयनगरबाट बिजलपुरासम्मको ७० किलोमिटर रेल्वे ट्याक्ट तयारी भइसकेको छ”, मन्त्री यादवले भनिन्, “अब हस्तान्तरण हुनमात्र बाँकी छ, हस्तान्तरण भएपछि बिजलपुरासम्म रेल चल्ने छ ।” यसका साथै विराटनगरबाट बर्दिबाससम्म पनि रेल सेवा विस्तार गर्ने तयारी भइरहेको मन्त्री यादवको भनाइ छ ।
 
यसरी रेल सेवाको विस्तार भएपछि नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध अझै प्रगाढ बन्ने दाबी गर्दै मन्त्री यादवले नेपाल र भारतबीच सरकार ऊर्जा, आर्थिक विकास र कन्टेक्टीभिटी विस्तारलाई जोड दिएको बताइन् ।  
 
“जयनगरबाट कुर्थासम्मको रेल सञ्चालन भइसकेको छ”, मन्त्री यादवले भनिन्, “रेल सञ्चालन भएपछि रेलको सुरक्षा र संरक्षण गर्ने हाम्रो धर्म हो, रेल चलाउने र संरक्षण गर्ने कार्यमा सबैले सहयोग गर्नुपर्छ”, उनले भनिन् ।
 
रेल चलेपछि नेपालको बेरोजगारीको अन्त्य हुनुका साथै आर्थिक विकास र समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै मन्त्री यादवले विकास र समृद्धिका लागि यातायात पूर्वाधार विस्तारलाई सरकारले प्राथमिकता दिएको बताइन् ।
 
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले रेल सेवा सञ्चालनले मधेस प्रदेशको विकास र समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । “लामो समयको प्रतीक्षापश्चात रेल सेवा सञ्चालन भएको छ, यो हाम्रा लागि असाध्यै खुसीको कुरा हो”, मुख्यमन्त्री राउतले भने,  “यसबाट प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्छ ।” यसले सरकारको विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि कोसेढुङ्गा हुने उनले विश्वास व्यक्त गरे । 
 
सदिऔँदेखि रहेको नेपाल–भारत सम्बन्धलाई रेल सेवाले अझै प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुहुँदै मुख्यमन्त्री राउतले रेल सेवा सञ्चालनका लागि सङ्घीय सरकारले खेलेको भूमिकाको प्रशंसासमेत गरे । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जयनगर–कुर्था रेल सेवा सञ्चालन भएसँगै जनकपुरधामको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । 
 
उनले रेल सेवाका कारण जनकपुरधामभित्र दैनिक पर्यटक बढ्ने र आर्थिक विकासले गति लिने विश्वास व्यक्त गर्दै नगरप्रमुख साहले रेल सेवाको सुरक्षा र संरक्षणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।     
 
नेपालका लागि कार्यवहाक भारतीय राजदूत नाव्या खम्पाले नेपालको आर्थिक विकासलाई भारत सरकार नेपाल सरकारसँग मिलेर काम गर्न चाहेको बताउँदै रेल सेवा यसैको उदाहरण भएको बताए । उनले रेल सेवा सञ्चालनसँगै नेपाल र भारतबीचको सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरे ।  
 
नेपाल रेल्वे कम्पनी लिमिटेडका महानिर्देशक दीपककुमार भट्टराईले भोलि आइतबारदेखि दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने जानकारी दिए ।
 
गत २०७७ असोज २ गते भारतीय कोकंण रेल्वे कम्पनीसँग रु ८४ करोड ६५ लाखमा खरिद गरेको रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी रहेको जानकारी दिँदै महानिर्देशक भट्टराईले रेलमा करिब एक हजार ३०० यात्रु बोक्न सक्ने क्षमता रहेको बताए । रासस