मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

फागुपूर्णिमा र यसको पौराणिक महिमा

फागुपूर्णिमा र यसको पौराणिक महिमा


हिन्दु पञ्चाङ्गअनुसार हरेक वर्षको फाल्गुणमास शुक्लपक्षको १५औँ तिथिको दिनलाई फागुपूर्णिमा भनिन्छ । यस पूर्णिमाले वसन्त ऋतुको आगमनसँगै हिउँदको जाडो समय अबदेखि सकिँदै गएको संकेत गर्दछ । यो समयमा प्रकृतिले पनि आफ्नो रुप बदलिसकेको हुन्छ । पात झरेर उजाड देखिएको वनस्पति जगत यस समयमा पालुवा पलाएर पुनः हराभरा देखिन्छ । यस पूर्णिमाले धरतीमा सबैसामु नयाँ खुसी, उत्साह, उमङ्ग, आनन्द बोकेर आएको अनुभूति हुन्छ ।

 
हाम्रो पात्रोका अनुसार विसं २०७८ साल (ईसं २०२२) को लागि फागुपूर्णिमा चैत्र महिनाको ३ र ४ गते पर्न गएको छ । यो चाड नेपालको पहाडी भेगमा चैत्र ३ गते र तराई भेगमा चैत्र ४ गते मनाइने गरिन्छ । यस दिन आफ्ना आफन्तहरु, सङ्गीसाथीहरु, प्रेमी–प्रेमिकाहरुबीच अबिर लगाएर, रङ्ग खेलेर खुसी साटासाट गर्ने गरिन्छ । यस पर्वले (१) नकारात्मक शक्तिको दहन (नष्ट गर्नु) र (२) सकारात्मक शक्तिको संरक्षण गरी दुईटा महŒवपूर्ण सन्देश बोकेको हुन्छ । दुष्टात्मा तथा दुराचारी होलिकाको दहन र सदाचारी तथा भगवान् भक्त प्रह्लादको संरक्षण भएको दिन यही भएको हुनाले यस धरतीमा त्यसै दिनदेखि होली खेलेर उत्सव मनाउने प्रचलनको थालनी हुँदै आएको हो भन्ने कुरा हाम्रा धर्मशास्त्रहरुबाट अवगत हुन आउँछ ।
 
यो पर्व हिन्दु समुदाय बसोबास गरेका विश्वका सबै देशहरु र नेपाल, भुटान, सिक्किम, बंगलादेश, पाकिस्तान, भारत आदिजस्ता हिन्दु राज्यहरुमा विशेष हर्ष र उल्लासका साथ मनाउने गरिन्छ । हिन्दु समाजमा यस दिन बिहान सबेरै उठेर स्नानादि कर्मबाट निवृत्त भई आ–आफ्ना मनमा कुनै फल पाउने अभिलाषा बोकेर आ–आफ्ना आराध्यदेवको नाममा पूजा–अर्चना गरी दिनभरि निराहार उपासना गरेर बेलुका विधिपूर्वक भगवान्को पूजा, धूप, दीप आरती आदि गरी चन्द्रोदय भएपछि चन्द्रदेवलाई जल, फूल, अघ्र्य आदि अर्पण गरी मनोकामना सिद्ध होस् भन्दै प्रणाम गरेर त्यस पूर्णिमा व्रतको विसर्जन गर्ने परम्परा पनि छ । आफ्ना परिवारका कोही सदस्यहरुको यदि अल्पायु लिएर जन्म भएको अवस्था छ भने त्यस्ताका नाममा विधिपूवक ३२ वटा पूर्णिमाको व्रत गरिदिने हो भने शिवजीको कृपाले त्यस्तो व्यक्ति पूर्णायुको बन्नसक्छ भन्ने तथ्य हाम्रा शास्त्रहरुमा भेटिन्छ । यसै कारणले गर्दाखेरि भन्ने गरिन्छः फागुपूर्णिमा व्रतको महिमा अपार छ, परम शक्तिशाली छ, परम पुण्यदायिनी छ । फागुपूर्णिमा बारेको पौराणिक कथन यस प्रकारको बताइएको छ ।
 
धेरै वर्ष पहिले विष्णु भगवान्ले बराह अवतार धारण गरेर हिरणाक्ष्य दैत्यले अपहरण गरेर समुद्रमा लगेर लुकाएको पृथ्वीलाई हिरणाक्ष्यको बध गरी उसबाट पृथ्वी खोसेर ल्याएका थिए । यसरी विष्णु भगवान्ले हिरणाक्ष्यको बध गरिदिएपछि यता उसको दाजु हिरण्यकश्यपु प्रतिशोधको भावनाले जलेको थियो । पहिले आफू शक्तिशाली बनेर पछिमात्र विष्णुसँग जुध्ने उसले सपना बोकेर ब्रह्माका नाममा कठोर तपस्या गर्न भनी घर छोडेर बाहिर गयो । ऊ तपस्यामा लिन हुँदाको पहिलो दिनमा नै उसका चारैतिरबाट विभिन्न चरा–चुरुङ्गीहरुले नारायण ! नारायण !! नारायण !!! भन्दै चिर्बिराउन थालेछन् । यसरी उसले आफ्नो रिस उठेको विरोधी विष्णुको नाम सुन्नुपर्दा मनमनले आज तपस्या सुरू गर्ने साइत राम्रो रहेनछ भन्ने सम्झेर ऊ आफ्ना घर गयो । उसकी धर्मपत्नी कयादुले भनिन्, ‘हे महाराज ! तपाईं त तपस्या गर्न भनेर जानुभएको यति छिट्टै फर्कनु भयो त ! के भयो ?’ यो सुनी हिरण्यकश्यपुले भन्यो, ‘हे प्रिया ! म तपस्या गर्न बसेकोमात्र के थिएँ, त्यतिबेला त्यहाँ मेरा वरिपरिबाट चराहरुले मेरा शत्रुको नाम नारायण ! नारायण !! भनेर मेरो तपस्यामा बाधा पु¥याए । यो सबै साइत राम्रो नभएका कारणले होला भन्ने मैले सोचेर यसरी घर आएको हुँ ।’ 
 
रात बित्दै गएछ, पति–पत्नीको सहवासको क्षण पनि सुरू हुन लागेछ । ठीक यसै समयमा कयादुले तपस्यामा लिन भएर बस्दा तपाईंलाई चराहरुले के भने रे ? भनी बारम्बार सोध्ने र हिरण्यकश्यपुले बारम्बार नारायण ! नारायण !! भन्दै गर्ने गर्दा लगभग १०० पटकभन्दा पनि बढी नारायणको नाम पुकार गर्ने काम भएछ । त्यस रात कयादु गर्भवती भइछन्, हिरण्यकश्यपु भोलिपल्ट तपस्याका निम्ति घरबाट बाहिर हिँडेछन् ।
 
त्यसपछिका धेरै समयसम्म देवर्षि नारदले कयादुलाई धर्म, दर्शन र ज्ञानसम्बन्धी धेरै उपदेशहरु दिएका र ती सबैलाई गर्भमा रहेका प्रह्लादले पनि सुनेर आफ्नी आमाको गर्भदेखि नै उनी भगवत् भक्तिमा प्रवृत्त हुन सकेका थिए भन्ने शास्त्रीय मान्यता छ । कयादु धर्मपरायण र एक पतिभक्त नारी पनि थिइन् । देवर्षि नारदकै रेख–देख र संरक्षकत्वमा उनले एक तेजस्वी बालकको जन्म दिइन् जसको नाम नारदले प्रह्लाद राखिदिए । नारदकै संरक्षकत्वमा प्रह्लादको लालन–पालन, शिक्षा–दीक्षा आदि सम्पन्न भएको थियो । किनकि त्यसबेला हिरण्यकश्यपु ब्रह्माको तपस्यामै तल्लीन थिए । प्रह्लाद सानै उमेरदेखि एक सच्चा तपस्वी र विष्णुभक्त थिए ।
 
हिरण्यकश्यपु ब्रह्माबाट वरदान प्राप्त गरेर आएपछि उनले आफूलाई पहिलेको भन्दा कैयौँ गुणा बढी शक्तिशाली भएको भन्दै उनलाई सबैले भगवान् भनेर मान्नुपर्ने भनी आफ्नो राज्यभरि घोषणा गराए । संसारमा आफूबाहेक अर्को कोही भगवान् नभएको र जहाँसुकैका देवालयहरु र मन्दिरहरुमा हिरण्यकश्यपुको प्रतिमा राखेर त्यसैलाई देवता मानेर सबैले पूजा गर्नुपर्ने उर्दी जारी गरियो । बालक प्रह्लाद ४–५ वर्षको भएपछि देवर्षि नारदको कुटीबाट हिरण्यकश्यपु राजाले आफ्नो दरबारमा पत्नी र छोरा दुवैलाई ल्याए । प्रह्लादलाई दैत्य जातिको शिक्षाका निम्ति दैत्यगुरुकुलमा पठाइयो, जहाँ भगवान् हिरण्यकश्यपु हुन भनेर पढाइ हुने गर्दथ्यो । यस्तो शिक्षा र स्वयं उनकै पिता हिरण्यकश्यपुलाई भगवान् मानेर पढाइने स्कुल प्रह्लादलाई पटक्कै मन परेन । त्यहाँका कुनै पनि क्रियाकलाप प्रह्लादलाई मन पर्दैनथे । शिक्षकहरु उनलाई सम्झाउन नसकेर वाक्क–दिक्क हुन्थे । बरु प्रह्लाद स्वयंले अरु सबै बालबालिकाहरुलाई विष्णुभक्त बनाउन सफल हुँदै गए । प्रत्युत्तरमा प्रह्लादले शिक्षकहरुलाई भन्ने गर्थे, ‘यस धरतीमा ईश्वर केवल नारायणमात्र छन् । मैले मेरा पितालाई ईश्वरसमान सम्मान गर्छु । तर, ईश्वर भनेर उहाँलाई मान्न सक्दिन । उहाँ आफैँले आफूलाई ईश्वर हुँ म भनेर भन्नु मूर्खता हो । विष्णु भगवान्बाहेक यहाँ अर्को दोस्रो ईश्वर कुनै पनि छैन ।’ 
 
हिरण्यकश्यपुलाई आफ्नो छोरा प्रह्लादको विषयमा जब सबै कुरा थाहा भयो, तब उनले प्रह्लादलाई मार्नका निम्ति धेरै किसिमका प्रयासहरु गरे । तर, प्रह्लाद विष्णु भगवान्को संरक्षकत्वमा भैसकेका हुनाले उनलाई मार्न चालिएका सबै प्रकारका प्रयासहरु विफल भए ।    
 
हिरण्यकश्यपु आफ्नो एकमात्र विरोधी छोरा प्रह्लादसँग दिन–प्रतिदिन झन्–झन् बढ्ता रुष्ट हुँदै गए । आफ्नो परमशत्रु विष्णुको आफ्नै छोरा प्रह्लाद परमभक्त भएको यस्तो अवस्था देख्दा हिरण्यकश्यपुलाई पटक्कै सह्य हुन सकेन । उनले आफ्ना मनमा आफ्नै छोरा प्रह्लादलाई कसरी मार्न सकिएला भन्ने बारेमा मात्र चिन्ता लिइरहन्थे । एक पटक उनले आफ्नी बहिनी होलिकालाई राजदरबारमा बोलाए । होलिकाले एक समयमा अग्निदेवको नाममा तपस्या गरेर उनबाट उनको शरीर अग्निले जलाउन नसक्ने वरदान पाएकी थिइन् । आफ्नै दाजु हिरण्यकस्यपुलाई विश्वास दिलाउनका निम्ति होलिकाले राजदरबारमा आफ्नो वरदानी शक्तिको एक पटक प्रदर्शनसमेत गरेकी थिइन् ।
 
आगोबाट नजल्ने वरदान पाएर उन्मक्त भएकी बहिनी होलिका र देवता, दानव, मानव आदि कोहीबाट पनि नमर्ने वरदानले मात्तिएका दाजु हिरण्यकश्यपुबीच व्यापक छलफलपश्चात प्रह्लादलाई मार्ने योजना बनाइयो । एक अग्निमण्डप तयार पारियो । होलिकाले प्रह्लादलाई आफ्नो साथमा लिएर अग्नि प्रवेश गर्ने सर्वसम्मत निर्णय भयो । होलिका र प्रह्लाद दुवै अग्निमा प्रवेश गरे । होलिकालाई अग्निले जलाएर भष्म गरी दहन गरिदियो । तर, विष्णुभक्त प्रह्लादलाई अग्निको रापले छुन पनि सकेन । अग्निदेवबाट वरदान पाएकी आफ्नी बहिनी होलिकालाई यसरी अग्निले जलाएर भष्म गरी मारेपछि हिरण्यकश्यपु आक्रोशित हुँदै अग्निदेवलाई भने, ‘हे अग्निदेव ! तिम्रो वरदानको शक्ति यही हो ? मलाई स्पष्टीकरण दिनुप¥यो ।’ 
 
यो सुनेर अग्निदेवले भने, ‘हे महाराज ! मैले होलिकालाई त्यतिबेलै भनेको थिएँ, यो वरदान लोककल्याण र आफ्नो आत्मरक्षा गर्ने कार्यमा मात्र प्रयोग हुनुपर्ने छ । यदि तिमीले यो वरदान कसैको अहितमा प्रयोग गर्न खोजेमा यसले काम गर्ने छैन । यहाँ होलिकाले प्रह्लादलाई मार्ने उद्देश्य लिएर अग्निमा प्रवेश गरेकी हुनाले आफूले पाएको वरदान आफैँका निम्ति विफल हुन गएको हो ।’ 
 
यहाँ सत्यको जित र असत्यको हार अर्थात सच्चा भगवान्को जित र कच्चा भगवान्को हार अर्थात नकारात्मक शक्तिको दहन, सकारात्मक शक्तिको संरक्षण भएको हो भन्ने खालको शिक्षा यो घटनाबाट पाउन सकिन्छ । उक्त होलिका दहन भएको दिन फाल्गुणमास शुक्लपक्षको १५औँ तिथिको दिन परेको र यसरी दुरात्मा भएकी होलिकाको दहन र ईश्वरभक्त प्रह्लादको संरक्षण भएको यो दिन भएको हुनाले त्यसै समयदेखि यस धरतीमा सत्य, धर्म, खुसी र आनन्दको सन्देश छिरल्दै एक–आपसमा जुटेर रमाइलो गर्ने, रङ्ग खेल्ने, उत्सव मनाउने गरिँदै आएका तथ्यहरु विभिन्न पुराणहरुमा भेटिन्छ ।
 
पछि विष्णु भगवान्ले नरसिंह अवतार धारण गरेर अहंकारी हिरण्यकश्यपुको बध गरी आफ्ना भक्त प्रह्लादलाई त्यसै राज्यको राजा बन्ने अवसर दिएका दृष्टान्तहरु पनि शास्त्रहरुमा प्रशस्त पाइन्छन् । विष्णुभक्त प्रह्लादले आफ्ना एक्काइस कुलहरु तारेको तथ्य पनि हाम्रा शास्त्रहरुमा वर्णित छन् । अन्त्यमा विश्वबन्धुत्वको भावना जागृत गराउँदै राज्यको सर्वोपरि हितलाई ध्यानमा राखी हाल राज्यका सरकार प्रमुख र सहायकहरु आपसी मनमुटाव बिर्सेर एकजुट भई अगाडि बढ्नसक्ने यस फागुपूर्णिमाले सबैलाई सद्बुद्धि प्रदान गर्न सकोस्, मेरो सबै बन्धुहरुप्रति यही सादुभाव । अस्तु !