मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

शिक्षकलाई निजामती कर्मचारीसरह सेवासुविधा उपलब्ध हुन्छ : शिक्षामन्त्री पौडेल

शिक्षकलाई निजामती कर्मचारीसरह सेवासुविधा उपलब्ध हुन्छ : शिक्षामन्त्री पौडेल


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारीसरह सेवासुविधाको प्रबन्ध गरिने बताएका छन् । ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तक्र्रियामा उनले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गरे । 
 
“यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउँछ”, मन्त्री पौडेलले भने, “अर्थ मन्त्रालय र अरु निकायसँग पनि समन्वय भइरहेको छ ।” कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि तह र सुविधा एउटै हुनुपर्ने मन्त्री पौडेलले बताए । 
 
शिक्षकको वृत्ति विकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको उनको भनाइ छ । मन्त्री पौडेलले १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर प्रक्रिया अगाडि बढाइएको बताए । शिक्षक सेवा आयोगको ११औँ संशोधन नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि शिक्षक दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायत कामले गति लिएको उनको भनाइ छ ।
 
मन्त्री पौडेलले शिक्षक महासङ्घका ३३ बुँदे माग सम्बोधनका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै कतिपय माग पूरा हुँदैआएको बताए । विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै अति न्यून विद्यार्थी भएका विद्यालयको पहिचान गरी अन्य विद्यालयसँग गाभिने उनको भनाइ छ । 
 
मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालयले ५५ बुँदे योजना बनाएर काम थालेको उल्लेख गरे । उनले सङ्घीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा ऐन निर्माणमा मन्त्रालयले गर्नुपर्ने काम सकिएको बताउँदै अन्य मन्त्रालयसँग छलफल गरी मन्त्रिपरिषदमा लैजाने तयारी भएको बताए । 
 
मन्त्री पौडेलले ताराखोलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतको प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धतासमेत जनाए । उनले ताराखोलामा आधुनिक सुविधायुक्त पुस्तकालय निर्माणका लागि मन्त्रालयमार्फत पहल लिने बताए । रासस