लन्डन । बेलायती महारानी एलिजावेथ द्वितीयाले यसै ग्रीष्म ऋतुका लागि तय गरिएको महत्त्वपूर्ण हिरक जयन्ती समारोहसँगै ‘परिवार, मित्रहरू, छिमेकी र समुदायलाई एकसाथ भेला गर्ने’ आफूले विश्वास लिएको बताएकी छन् ।
युवराज चार्ल्स राजा बनेपछि उनकी पत्नी क्यामिला नै रानी बन्ने महारानीले स्पष्ट पारेकी छन् ।
गद्दी आरोहणको हिरक उत्सवको अवसरमा शनिबार एक सन्देश जारी गर्दै महारानी एलिजावेथले क्यामिलाको पक्षमा धारणा प्रष्ट पारेकी हुन् । क्यामिला युवराज चार्ल्सकी दोस्रो श्रीमती हुन् ।
युवराज्ञी डायनाको कार दुर्घटनामा निधन भएपछि युवराज चार्ल्सले प्रेमिका क्यामिलासँग दोस्रो विवाह गरेका थिए । चार्ल्सले विवाह गरे पनि क्यामिला रानी बन्न पाउने, नपाउने विषय बेलायती राजनीतिमा बहसको विषय बन्दै आएको थियो ।
तर, महारानी एलिजावेथले युवराज चार्ल्सले गद्दी आरोहण गरेपछि उनीसँंगै गद्दीमा बस्ने अधिकार क्यामिलालाई रहेको भन्दै बहसलाई अन्त्य गरिदिएकी छन् ।
९५ वसन्त पार गरेकी महारानी एलिजावेथले लिखित एक सन्देशमा भनेकी छन्, “मेरो छोरा चार्ल्स राजा बनेपछि उनी र उनकी रानी क्यामिलालाई पनि मलाईजस्तै सहयोग र सद्भाव प्राप्त हुनेछ भन्नेमा पूर्ण विश्वस्त छु ।” एजेन्सी
प्रतिक्रिया