मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको निधन

प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको निधन


याँ दिल्ली । प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । यसै वर्षको जनवरीमा कोभिड–१९ बाट सङ्क्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनी हप्तौँदेखि सघन उपचार कक्षमा रहेकी थिइन् । उपचारका क्रममा नै आइतबार बिहान उनको निधन भएको हो ।
 
मङ्गेशकरको जन्म सन् १९२९ मा भएको थियो र उनले आफ्नो बुबा दीनानाथको तालिममा प्रारम्भिकरूपमा आफ्नो सांगीतिक यात्रा सुरु गरेकी थिइन् । लताले पाँच वर्षको उमेरबाट नै आफ्ना बुवाबाट सांगीतिक तालिम सुरु गरेकी थिइन् ।   
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मङ्गेशकरको निधनले “देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको’’ बताएका छन् । मोदीले मङ्गेशकरका “गीतहरूले विभिन्न खाले भावनाहरू प्रवाह गरेको र उनले “दशकौँसम्म भारतीय चलचित्र जगतलाई नजिकबाट नियालेको’’ बताएका छन् ।   
 
लता १३ वर्षको हुँदा बुबाको मृत्यु भएको थियो । त्यसपछि चार साना भाइबहिनीको लालनपालनको समेत भूमिका खेल्न बाध्य तुल्यायो र अन्ततः १९४५ मा उनको परिवार मुम्बईमा बसाई सार्नु पर्यो । सन् १९६२ मा भारत–चीन युद्धमा मारिएका सैनिकहरूलाई देशभक्तिपूर्ण श्रद्धाञ्जली गाउन सन् १९६३ जनवरीमा भारतको गणतन्त्र दिवस समारोहमा सरकारद्वारा उनलाई निमन्त्रणा गरिएको थियो । उनले “ओ द पिपल अफ माइ कन्ट्री’’ को प्रस्तुतिले तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू आँसु झारेका थिए ।  
 
उनले भक्ति र शास्त्रीय एल्बमहरू रेकर्ड गर्नुका साथै एक हजारभन्दा बढी चलचित्रमा गीत गाएकी छन् । आधा शताब्दी लामो असाधारण साङ्गीतिक यात्राका क्रममा उनले ३६ भाषामा २७ हजारभन्दा बढी गीत गाएकी छन् ।  
 
सन् २००१ मा उनले भारतमा नागरिकहरूले पाउने सबैभन्दा उच्च तहको सम्मान भारत रत्न प्राप्त गरेकी थिइन् । सन् २००४ मा उनको उमेर ७५ वर्ष पुग्दा बलिउडका प्रसिद्ध निर्देशकमध्ये एक यश चोपडाले, “मैले उहाँको आवाजमा भगवानको आशीर्वाद देखेँ’’ भनेर लेखेका थिए ।  
 
मङ्गेशकरले विवाह भने गरिनन् । उनकी बहिनी आशा भोसले पनि चर्चित बलिउड गायिका हुन् । लताले नेपाली भाषामा पनि गीत गाएकी छन् । एजेन्सी

शेयर गर्नुहोस:

1.2k
Shares