मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

चितवनमा माघे सङ्क्रान्तिसहित सबै मेलामहोत्सव बन्द

चितवनमा माघे सङ्क्रान्तिसहित सबै मेलामहोत्सव बन्द


काठमाडौँ । पवित्र तीर्थस्थल देवघाटमा लाग्ने माघे सङ्क्रान्तिसहितका जिल्लामा सञ्चालन भइरहेका र हुने तयारीमा रहेका मेला महोत्सव बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार सम्पन्न जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समिति (सिसिएमसी) सहितको सर्वपक्षीय बैठकले मेला महोत्सव बन्द गर्ने निर्णय गरेको हो । 
 
बैठकले भौतिकरूपमा २५ जनाभन्दा बढी उपस्थित भई हुने सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, जात्रा, महोत्सव गर्न रोक लगाउने निर्णय गरेको हो । साथै सञ्चालन भइरहेको चितवन महोत्सवको हकमा पुस २९ गते पूर्णरूपमा बन्द गर्ने गरी दुई दिन व्यवस्थापनका लागि समय उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । 
 
बैठकमा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मङ्गलबारदेखि सुरु हुन लागेको रत्ननगर महोत्सवको हकमा केही दिन स्थगित गरेर अवस्था हेर्नका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउने बताएका थिए । यसै महिना खैरहनीमा हुन लागेको खिचरा महोत्सवसँगै अन्य महोत्सव पनि पूर्ण बन्द गर्ने बैठकले निर्णय गरेको छ । 
 
देवघाटमा हुने माघे सङ्क्रान्ति मेलामा देशैभरबाट भक्तजन आउने गर्दछन् । सङ्क्रान्तिको अघिल्लो दिन त्रिशूली र कालीगण्डकी दुई नदीको सङ्गममा लिङ्गो गाडेर मेला शुभारम्भ गरिन्छ । प्रमुख जिल्ला अधिकारी तामाङले तनहुँ र नवलपरासी जिल्लासँग समन्वय गरेर मेला पूर्णरूपमा बन्द गराइने बताए ।  
 
बैठकले खोपलाई अभियानकै रूपमा अगाडि बढाउने, सार्वजनिक स्थानमा निःशुल्क एन्टिजेन परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको छ । सरकारी कार्यालयले जनस्वास्थ्यको मापदण्ड अनिवार्यरूपमा पालना गर्ने सुनिश्चित गरी भीडभाड नहुने गरी सेवा प्रवाह गर्ने निर्णय बैठकले गरेको छ । 
 
सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी क्षमताका यात्रु नराख्न, यात्रु, चालक र सहचालकले अनिवार्यरूपमा मास्क लगाउन, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्न र दैनिक सवारीलाई निःसङ्क्रमण गर्न बैठकले निर्णय गरेको छ ।