मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

पार्टीभित्रको गुट र भागबन्डा अन्त्य हुन्छ : महामन्त्री थापा

पार्टीभित्रको गुट र भागबन्डा अन्त्य हुन्छ : महामन्त्री थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र गुट र भागबन्डाको अन्त्य गर्ने बताएका छन् । उनले विधानसम्मत ढङ्गले पार्टीलाई चलाउने उल्लेख गरे ।
 
नेपाली कांग्रेस पाणिनि गाउँपालिकाले दुर्गाफाँटमा आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले गरिबीमा रहेको जनसङ्ख्यालाई कसरी उकास्ने र कसरी रोजगारी सृजना गर्ने भन्ने कुरामा जोड दिने बताए । विदेश गएका युवाका लागि रोजगारी सृजना गर्नका लागि पार्टीले रणनीति बनाउने उनले उल्लेख गरे ।  
 
महामन्त्रीमा निवार्चित भएपछि काठमाडौँ उपत्यकाबाहिर पहिलो आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले स्थानीय तहको निर्वाचन वैशाखमा हुने तथा प्रदेश र सङ्घको निर्वाचन मङ्सिरमै हुने भएकाले त्यसको तयारीमा लाग्न कांग्रेस कार्यकर्तालाई आग्रह गरे । 
 
कांग्रेस केन्द्रीय सदस्य एवम संसदीय दलकी सचेतक पुष्पा भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण देश पछाडि धकेलिएको आरोप लगाइन् । उनले जनताको बलिदानीबाट प्राप्त संविधान र गणतन्त्रको रक्षाका लागि कांग्रेस जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने स्पष्ट पारिन् । 
 
कांग्रेस पाणिनिका सभापति तुल्सी पौडेलको अध्यक्षता, जिल्ला सचिव तथा पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमको सञ्चालन र यादवप्रसाद घिमिरेले स्वागत गरेको उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतम, कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, नेवि सङ्घका महामन्त्री युवराज पाण्डे, कांग्रेस प्रवेश गरेकी लक्ष्मी गौतमलगायतले आ–आफ्नो धारणा राखेका थिए ।  
 
एमालेबाट निर्वाचित पालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश
 
विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पाणिनि गाउँपालिकामा नेकपा (एमाले) बाट उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतमसहित ४७५ जना कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई कांग्रेस थापाले पार्टी प्रवेश गरेकामा स्वागत गरेका थिए । गौतम गाउँपालिका महासङ्घको केन्द्रीय सदस्यसमेत रहेकी छन् । रासस