काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय सम्मेलनको आठौँ दिन आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जनाको केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गरेकोमा सबै नामलाई बन्दसत्रले अनुमोदन गरेको छ ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा जारी बन्दसत्रमा विभिन्न क्लस्टरसहित २३६ जनाको नाम प्रस्ताव गरेका हुन् । माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने व्यवस्था छ । बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्ने कार्यतालिका छ ।
सर्वसहमतिका आधारमा विभिन्न चरणको छलफलका आधारमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम घोषणा गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
केन्द्रीय समितिमा चितवनबाट नौ जना
यसैबीच, नेकपा (माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशनमा चितवन जिल्लाको प्रतिनिधित्व गर्दै नौ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेको २३६ जना केन्द्रीय समिति सदस्यमा चितवनबाट नौ जनाको प्रतिनिधित्व भएको हो ।
चितवनबाट प्रतिनिधित्व गर्ने सदस्यहरुमा पुष्पकमल दाहाल प्रचण्ड, नारायण दाहाल, सूर्य सुवेदी ‘पथिक’, रेनु दाहाल, ज्ञानु बस्नेत सुवेदी, ईश्वरी भट्टराई, यमबहादुर परियार ‘इन्द्रजित’, सन्तु दराई र गंगा बेलबासे रहेका छन् ।
यस्तै, माओवादीको पदाधिकारी १५ सदस्यीय हुने व्यवस्था गरिएको छ । माओवादीले सोमबार मात्रै पदाधिकारी चयन गर्ने भएको छ ।
केन्द्रीय सदस्यमा खुल्लातर्फ १३२ जना र सामानुपातिकतर्फ १२५ जनाको नाम प्रस्तुत गरिएको थियो । सबै नामलाई बन्दसत्रले अनुमोदन गरेको छ । महाविधेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित केन्द्रीय सदस्य कृष्णबहादुर महराले सोमबार बस्ने नवनिर्वाचित केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने जानकारी दिए । महाधिवेशनले समसामयिक प्रस्ताव पारित गरेको छ ।
माओवादीले केही समयदेखि सम्बन्धित समिति चयन गर्ने र सोही समितिमार्फत पदाधिकारी चयन गर्ने प्रणाली अवलम्बन गर्दै आएको छ । सोही प्रणालीअनुसार सोमबार बस्ने २३६ सदस्यीय केन्द्रीय समितिको बैठकले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन गर्ने भएको छ ।
केन्द्रीय समितिको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने भएको छ । सहमतिका आधारमा पदाधिकारी चयन हुन नसके मात्रै केन्द्रीय समितिमा मतदान गर्ने कार्यक्रम तय गरिएको उनको भनाइ छ ।
माओवादीको महाधिवेशन अघिल्लो आइतबार कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन भएको थियो । महाधिवेशन आठ दिनसम्म जारी रह्यो । आठौँ महाविधेशन आठ दिनमै सम्पन्न भएको माओवादीले जनाएको छ ।
आइतबार उद्घाटन, सोमबार अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव र नेता देवप्रसाद गुरुङले विधान पेश गरेका थिए । मङ्गलबार र बुधबार समूहगत छलफल भएको थियो । समूहगत छलफलका लागि विभिन्न २५ समूह निर्धारण गरिएको थियो । बुधबार अपरान्ह्देखि बिहीबारसम्म समूहगत छलफलका क्रममा उठेका विषय वस्तुमाथि समूहका नेताले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
शुक्रबार अध्यक्ष प्रचण्डले समूहगत छलफलमा उठेका जिज्ञासाहरूको जवाफ दिएका थिए । शनिबार नेतृत्व चयनलगायत विषयमा छलफल भएको थियो ।
आइतबार अपराह्न ४ बजेदेखि सुरु भएको बन्दसत्रमा सुरुमा निर्वाचन आयोग, अनुशासन आयोग र लेखापरीक्षण आयोगको प्रमुख तथा सदस्य चयन गरिएको थियो । त्यसपछि बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका थिए ।
अध्यक्षको प्रस्तावलाई बन्दसत्रले सर्वसहमतिले पारित गरेको नेता महराले जानकारी दिए ।
प्रतिक्रिया