मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

माओवादी मात्रै भरोसायोग्य शक्ति हो भन्ने स्थापित भयो : प्रचण्ड

माओवादी मात्रै भरोसायोग्य शक्ति हो भन्ने स्थापित भयो : प्रचण्ड


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताले दिएको सुझावका आधारमा राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउने विश्वास दिलाएका छन् । 
 
आफ्नो राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै उनले प्रतिवेदनपछि बन्दसत्रको हलदेखि बाहिर तरङ्ग, उत्साह र जिज्ञासा व्यक्त भएको तथा महाधिवेशनप्रति देशको ध्यानकेन्द्रित रहेकाले सबैको चासोलाई उपयुक्तरूपमा सम्बोधन गर्ने बताए । 
 
उनले पार्टीलाई जनपक्षीय बनाउन र देश तथा जनताको हितमा केन्द्रित गर्न आफैबाट शुरु गर्ने प्रतिवद्धता व्यक्त गर्दै माओवादी मात्रै भरोसायोग्य शक्ति हो भन्ने स्थापित गराएरै छाडिने दृढता व्यक्त गरे । 
 
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि विभिन्न २५ समूह बनाएर मङ्गलबार र बुधबार मध्याह्नसम्म छलफल भएको थियो । छलफलका क्रममा उठेका विषयमाथि बुधबार र बिहिबार समूहका नेताले बन्दशत्र हलमा जानकारी गराएका थिए । 
 
त्यसक्रममा उठेका समग्र प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले आज दिएका हुन् । उनले माओवादीको महाधिवेशनका कारण देशको राष्ट्रिय राजनीतिमा समेत नयाँ ऊर्जा प्राप्त भएको बताए ।  
 
उनले भने, “हाम्रो पृष्ठभूमि र विरासतको कारणले माओवादी नामका क्रान्तिकारी जनयुद्ध र जनआन्दोलनको संवाहक पार्टी भएको नाताले, यो परिवर्तनसँग पार्टी आन्दोलन विरासत जोडिएकाले यो महाधिवेशनप्रति देश तथा दुनियाँको ध्यान छ ।” 
 
माओवादीले कस्तो कार्यक्रम ल्याउने हो, कस्तो सङ्गठन बनाउने हो, कस्तो निर्णय गर्ने हो भन्ने आमरूपमा चासो पैदा भएको भन्दै उनले भने, “कसैले २१ शताब्दी फड्को हान्न खोजे पनि भने । कतिले २०औँ शताब्दीमा फर्कन खोजेको भने । कतिले किताबबाट सारेको पनि भने । कतिले पुरानै बाटोमा जाने भयो पनि भने । तर, यो महाधिवेशन अरुभन्दा फरक रह्यो ।”
 
सुुरुदेखि नै विचारको विकासलाई प्रमुख स्थानमा राखेको भन्दै उनले पार्टी रुपान्तरणमा केन्द्रित बनेको र सोही आधारमा  कम्युनिष्ट आन्दोलनको इतिहासमा समेत दर्ज भएको बताए । 
 
दक्षिण, वाम या मध्यमार्गी कोणबाट नै किन नआएको होस्, यो महाधिवेशनमा विचारको विकास गर्ने सन्दर्भमा वा आत्मसमीक्षाको रुपमा पनि जनतासँग जोडिने सवालमा महत्त्वपूर्ण रहेको अध्यक्ष प्रचण्डको भनाइ छ । नयाँ बहसको सृष्टि गर्ने महाधिवेशनका रूपमा पनि दर्ज भएको उनले स्पष्ट पारे । 
 
अध्यक्ष प्रचण्डले भने, “राजनीतिक एजेन्डा ल्याउने र स्थापित गर्ने त माओवादी हो भन्ने भएको छ । महाधिवेशन उद्घघाटन सत्रमा पनि यहाँहरूले सुन्नु भो प्रचण्डले नै हो परिवर्तन ल्याएको, संविधानसभा, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, सङ्घीयता सबै सबै ल्याउन भूमिका खेलेको भनेर कांग्रेस सभापतिले नै भने ।” 
 
आफूले प्रस्तुत गरेको प्रतिवेदन बन्दसत्रको साझा सम्पत्ति भएको भन्दै उनले सबैको सुझाव समेटिने विश्वास दिलाए । रासस