मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

महाधिवेशन प्रतिनिधिको विश्वास : माओवादी पुनः बौरिएर आउँछ

महाधिवेशन प्रतिनिधिको विश्वास : माओवादी पुनः बौरिएर आउँछ


काठमाडौँ । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धका कारण देशमा गणतन्त्र स्थापित भएको छ । लामो व्यवस्थामा बदलाव आएको छ । राजनीतिक प्रणाली फेरिएको छ । मानिसका सोच र चाहना चलायमान भएका छन् । यद्यपि राजनीतिक क्रान्तिसँगै आर्थिक विकासले गति लिन नसक्दा अवस्थामा खासै परिवर्तन आएको छैन । 
 
जनयुद्धका क्रममा १७ हजार बढी नागरिकको ज्यान गयो । हजारौँ नागरिक घाइते भए । एक हजार ५०० बढी नागरिक बेपत्ता भए । राजनीतिकरूपमा परिवर्तन भए पनि शहीद, बेपत्ता र अपाङ्गता भएका नागरिक र तिनका परिवारले परिवर्तनको अनुभूति उचित ढुङ्गसँग महसुस गर्न पाएका छैनन् । मानिसमा एक प्रकारको निराशा पनि सँगसँगै छ  । यो सँगै अझै आश मेरेको छैन किनकी ‘सास रहेसम्म आश रहन्छ’ भन्ने विषय मानवीय स्वभाव हो । 
 
नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु भएको छ । महाधिवेशनमा एक हजार ७०० बढी प्रतिनिधि सहभागी छन् । राजनीतिक क्रान्तिमा श्रेष्ठता हासिल गरेको माओवादीले यस महाधिवेशनबाट थप प्रष्ट विचारसहित आफूलाई स्थापित गर्ने बताइरहेको छ । 
 
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अढाई घन्टा लगाएर राजनीतिक प्रतिवेदन पेश गरे । माओवादीका प्रतिनिधि तथा पर्यवेक्षक अध्यक्ष प्रचण्डको प्रतिवेदन अध्ययन गर्ने क्रममा छन् । महाधिवेशनमा विभिन्न वर्ग, क्षेत्र र समुदायका प्रतिनिधिको उपस्थिति छ । उनीहरूमा अझै पनि विश्वास छ, माओवादी बौरिएर आउँछ र २०६४ सालको जस्तै स्पातिलो बन्छ । जनताको विश्वास र भरोसा पनि उस्तै छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई माओवादीले स्थापित गरेको छ । 
 
माओवादीको महाधिवेशनमा सहभागी हुन आएका रुकुम पश्चिमका वृक्ष उकेरा क्षेत्री ‘साकार’ आफैँ जनयुद्धको एक योद्धा हुन् । पूर्वजनमुक्ति सेनामा काम गरेका क्षेत्री युद्धको क्रममा घाइतेसमेत भए । उनलाई लागेको छ, माओवादी छिट्टै पूर्ववत् अवस्थामा फर्कनेछ । उनले शहीद परिवार, घाइते योद्धाको निम्ति पार्टी फुट्नु अत्यन्त दुखद् भएको बताए । उनी भन्छन्,  “मेरो आग्रह छ माओवादीहरू मिल्नुपर्छ । अध्यक्ष प्रचण्डको नेतृत्वमा फेरि पूर्वमाओवादीहरू एकीकृत हुनुपर्छ ।”
 
विसं २०६४ को संविधानसभा निर्वाचनमा माओवादी पहिलो पार्टी भएको थियो ।  अबको निर्वाचनमा पनि माओवादी पहिलो पार्टीको रूपमा आउनुपर्छ भन्ने उनलाई लागेको छ ।  विसं २०५५ देखि माओवादी पार्टीमा आबद्ध भएका क्षेत्री २०५७ सालमा जनमुक्ति सेनामा प्रवेश गरेका थिए । जनयुद्धका क्रममा पाल्पा आक्रमणमा घाइते भएपछि उनले आफ्नो दायाँ खुट्टा गुमाउनु परेको थियो । 
 
उनले भने, “जनताले हेर्दा सबै पार्टीको विधि, विधान, एजेण्डा, भाषण, सिद्धान्त राम्रै लाग्छ तर व्यवहारमा लागू कुन पार्टीले ग¥यो त भन्ने विषय मुख्य हो । व्यवहारमा हेर्दा सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता, गणतन्त्र माओवादीको एजेण्डा हो भन्नेमा जनता प्रस्ट छन् ।”
 
उनको विचारमा दलित, महिला, जनजाति, मधेसीलगायत उत्पीडित समुदायको पार्टी भनेकै माओवादी पार्टी हो । यो पार्टीको विगतमा केही कमिकमजोरी भए पनि त्यसलाई सच्याउँदै फेरी आफ्ना मुद्दालाई लिएर जनता सामु जानुपर्ने उनको सुझाव छ । पार्टीको महाधिवेशनले अझै सशक्त नीति बनाएर जनतामा जाने उनको विश्वास छ । 
 
उनलाई लाग्छ दश वर्षे जनयुद्ध माओवादीले जितेको पनि होइन र हारेको पनि थिएन । अब फेरि जनयुद्ध वा द्वन्द्व गर्न सम्भव पनि छैन । शान्ति प्रक्रिया एउटा सम्झौता मात्रै भएको हो । माओवादी शान्ति प्रक्रियामा आएको धेरै भएको छैन । राज्य संरचनामा माओवादी भर्खरै आएको हुँदा सबै पार्टीसँग सहकार्य जानुको विकल्प थिएन । उनलाई  जनयुद्धप्रति कुनै पश्चाताप छैन बरु गर्वको बोध छ ।  
 
“हामी व्यक्ति परिवर्तनको लागि लडेको होइन, साम्यवादका लागि लडेको हो । सिङ्गो देशको प्रणाली परिवर्तनका लागि लडेका हौँ, त्यसैले धैर्य गर्नुपर्छ परिवर्तन भएको हुन्छ, हुन्छ”, उनी भन्छन् । 
 
सुदूरपश्चित प्रदेश पञ्चदेवल विनायक नगरपालिका–४ कालिका महाधिवेशन प्रतिनिधि, रामबहादुर विक पनि माओवादी पूर्ववत् अवस्थामा फर्कनेमा ढुक्क छन् । उनी भन्छन्, “माओवादीसँग एजेण्डा छ ।” माओवादीको एजेण्डालाई अरुहरूले खोस्न खोजेर यो नखोसिने उनको भनाइ छ । 
 
नेपालको राजीनतिक परिवर्तन र यो व्यवस्था ल्याउका लागि माओवादी आन्दोलनको ठूलो त्याग, तपस्या र सङ्घर्ष रहेको स्मरण गर्दै उनले आफूहरूले उठाएका एजेण्डा अहिले राज्यमा स्थापित भएका प्रशन्नता व्यक्त गर्छन् ।  
 
राजनीतिक एजेण्डालाई त्यसलाई संस्थागत गर्नका लागि माओवादी पुनः आफ्नो धरातलमा फर्कनुपर्ने उनको भनाइ छ । “पार्टी जनताको बीचमा जानुपर्छ । जनतालाई एकताबद्ध गर्नुपर्छ र फेरि जनतालाई राज्य सत्ताको मूलप्रवाहमा जोड्नका लागि माओवादी पार्टीले त्यही प्रकारको नीति बनाउनुपर्छ”, उनले भने । 
 
नामले परिवर्तन भयो तर जनताको जीवनमा परिवर्तन भएको छैन जनताको जीवन शैलीमा परिवर्तन गर्नका लागि माओवादीले एक पटक फेरि पहल गर्नुपर्ने उनको भनाइ छ । “यो देशका उत्पीडित जाति, महिला, दलित, जनजाति, उत्पीडित क्षेत्रका मानिसलाई फेरी राज्यको मूल प्रवाहमा जोड्नका लागि माओवादी पार्टीले फेरि एक पटक अभियान चलाउनुपर्ने आवश्यकता देखिन्छ”, उनले भने ।  
 
माओवादीबाट छुट्टिएर अर्को पार्टी खोल्ने नेताहरूलाई तपाईं के भन्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा उनको टिप्पणी छ, “राजनीतिक पार्टीमा यो प्रवृत्ति स्वाभाविक हो । केही मान्छेहरू व्यक्तिगत स्वार्थ प्राप्तिका लागि मूल पार्टी छोडेर दायाँबायाँ गरिराखेका हुन्छन् ।”
 
उनको विचारमा प्रतिगमनकारी गतिविधिमा लागेका मान्छे र समूहसँग जानु आफैमा मिल्दो कुरा थिएन । उनले भने, “केपी ओली शर्माको पार्टीमा गएका मान्छेहरूले केही पद वा कुर्सी प्राप्त गर्नका लागि गएका हुन् । त्यसले त्यति ठूलो अर्थ राख्दैन । अवसरवादीहरू जाने आउने भइरहन्छ । माओवादी पार्टी झन बलियो भएर जनताको बीचमा गएको छ ।” 
 
महाधिवेशनमा सहभागीहरूका समान धारणा छन्, माओवादी पुनः बौरिएर आउँछ । उनीहरूका भनाइ छ, “हामी त्यो विश्वासका साथ अगाडि बढेका छौँ, किनकि हामीले एजेण्डा छाडेका छैनौँ । जनतालाई विश्वास छ, माओवादी अझै भरोसायोग्य शक्ति हो भन्नेमा ।” रासस