बिश्व घटना

बेलायतमा ओमिक्रोनबाट एकैदिन १२ हजारभन्दा धेरै सङ्क्रमित

बेलायतमा ओमिक्रोनबाट एकैदिन १२ हजारभन्दा धेरै सङ्क्रमित


न्डन । बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा १२ हजार १३३ जना ओमिक्रोनबाट सङ्क्रमित भएका छन् ।  
 
योसँगै बेलायतमा ओमिक्रोनबाट कूल सङ्क्रमितहरुको सङ्ख्या ३७ हजार १०१ पुगेको पनि अधिकारीहरुले जनाएका छन् । त्यसैगरी कोरोनाभाइरसबाट भने एकैदिनमा ८२ हजार ८८६ जना सङ्क्रमित भएका छन् । 
 
बेलायतमा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमितहरुको सङ्ख्या एक करोड १३ लाख ६१ हजार ३८७ पुगेको जनाइएको छ । यसअघि गत शनिबार एकैदिन ९० हजारभन्दा बढी सङ्क्रमित भएका थिए । बेलायतमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै भएको छ । 
 
बेलायतमा एकैदिनमा अहिलेसम्म सबैभन्दा धेरै ९३ हजार ४५ जना सङ्क्रमित भएका थिए । त्यसपछि भने घट्दै गएको छ । सङ्क्रमित भएकाहरुको सङ्ख्याको तुलनामा मृत्यु भएकाहरुको सङ्ख्या भने सामान्य नै देखिएको छ । 
 
पछिल्लो एक दिनमा कोरोनाका कारण ४५ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ४७ हजार २१८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ । एजेन्सी