काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मंगलबार भएको पुनः मतदानको मतगणना सुरु भएको छ । मतगणना राति १०ः५२ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । तीन स्थानमा राखेर मत गन्न थालिएको र मतगणना सुरु भएको दुई घन्टामा मतपरिणाम आउने बताइएको छ ।
दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको थियो । कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका थिए ।
सोमबार भएको निर्वाचनमा सभापति पदका पाँच जना प्रत्यासीमध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने उम्मेदवार प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच पुनः मतदान भएको हो ।
सोमबार भएको मतदानमा सभापति देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ ।
पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुने व्यवस्था छ । रासस
प्रतिक्रिया