मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

केसीको नेतृत्वमा अमेरिकी जनप्रगतिशील मञ्च गठन, प्रक्रियामा असन्तुष्टि जनाउँदै अर्को समिति सार्वजनिक

केसीको नेतृत्वमा अमेरिकी जनप्रगतिशील मञ्च गठन, प्रक्रियामा असन्तुष्टि जनाउँदै अर्को समिति सार्वजनिक


ड्यालस (टेक्सस) । जनप्रगतिशील मञ्च अमेरिकाको अध्यक्षमा तिलक केसी चयन भएका छन् । शनिबार भएको मञ्चको पहिलो अधिवेशनले विसकन्सिन राज्यको मिलवाकी निवासी केसी अध्यक्षमा चयन भएका हुन् । 
 
केसी अमेरिकाको नेपाली समुदायमा चिरपरिचित सामाजिक अभियन्ताका साथै व्यवसायी पनि हुन् । केही महिनाअघि सम्पन्न एनआरएनए अमेरिकाको निर्वाचनमा केसी अध्यक्षका उम्मेदवार थिए । 
 
विगत २० वर्षदेखि अमेरिकामा बस्दै आएका केसी सन् २०१९/२१ मा एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा रहेर काम गरिसकेका छन् । नेपालको राजनीतिक दल नेकपा माओवादी निकटका रुपमा धेरैले जनप्रगतिशील मञ्चलाई चिन्ने गरेका छन् ।
 
भर्चुअल प्रक्रियाबाट भएको अधिवेशनमा माओवादी प्रवास कमिटीका सहइन्चार्ज लक्ष्मण पन्त, सचिव ओम शर्मा, टिबी पाठक समेतको सहभागितामा भएको अधिवेशनले १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः बाबुराम सापकोटा, माथबरसिंह रावत, टंकराज रेग्मी, होताराम बिक छानिएका छन् ।
 
त्यस्तै सदस्यहरुमा विजय ज्ञवाली, जगन निरौला, हरि पराजुली, निर्मल पाण्डे, विश्व राई, शिव पहाडी, मोहन कुसारी, गोरख कुसारी, सम्झना खनाल र हरि गौतम चयन भएका छन् ।
 
‘साथीहरुले मलाई विश्वास गरेर संस्थाको जिम्मेवारी दिनुभएको छ । यसको लागि आभारी छु । अमेरिकी कानुनलाई मान्दै मातृभूमिको हितमा सकेको सहयोग गर्ने मेरो मुख्य लक्ष्य हुनेछ’ अध्यक्ष केसीले हिमालय खबरसँग भने ।
 
पौडेल नेतृत्वमा अर्को समिति सार्वजनिक
 
यसैबीच, केसी नेतृत्वमा सार्वजनिक भएको कार्यसमितिप्रति असन्तुष्टि जनाउँदै मधुसागर पौडेलको नेतृत्वमा जनप्रतिशिल मञ्च अमेरिकाको अर्को कार्यसमिति सार्वजनिक भएको छ । 
 
पाँच वर्षदेखि सिकागोमा बस्दै आएका पौडेल नेतृत्वको कार्यसमितिमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः टंक (महेश) रेग्मी, विनोद कुइँकेल, बलराम पोखरेल र मोहन कुसारी चयन भएको सार्वजनिक गरिएको छ । 
 
त्यस्तै, सदस्यहरुमा ईश्वरी दवाडी, गोरख कुसारी, नारायण खड्का, प्रदीप चौलागाई, लक्ष्मी सुवेदी शर्मा, युवराज केसी, महेन्द्र अधिकारी, मञ्जु ढुंगाना, मित्रमणि घिमिरे, राजु गुरुङ्ग र विकास कँडेल रहेका छन् । यो समितिको सल्लाहकारमा नारायण कँडेल, काशीनाथ पौडेल र मणि चौलागाई रहेका छन् ।
 
पहिलो अधिवेशनबाटै संस्थामा विवाद भएर दुईवटा समिति गठन हुनुलाई धेरैले सहजरुपमा लिएका छैनन् । ‘केन्द्रको अस्वाभाविक हस्तक्षेपलाई हामी अमेरिकामा बस्नेले नमानेका हौँ’ पौडेल नेतृत्वमा सार्वजनिक समितिका महासचिव कुइँकेलले भने । केही व्यक्तिहरुले भाँडभैलो गरेको आरोप समेत उनले लगाए । 
 
समितिका अध्यक्ष केसीले भने अधिवेशनको पुरै समय बसेर केही साथीहरु पछि बाहिर निस्किसकेपछि अनावश्यक बखेडा झिकेको प्रतिक्रिया दिए ।