काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसभित्र आम एकताको खाँचो रहेको बताएका छन् । बिहीबार आयोजना गरिएको कार्यक्रममा नेता सिटौलाले राजनीतिलाई इमान्दारिताको वाटोमा लैजान पार्टीभित्र आम एकताको खाँचो रहेको बताएका हुन् ।
“पार्टीभित्र आम एकता आवश्यक छ, आम जनतालाई कांग्रेससँग गाँस्न सक्नुपर्छ, कांग्रेसलाई व्यक्ति केन्द्रीत होइन पार्टी केन्द्रित गराएर अगाडि बढाउनुपर्छ”, उनले भने । राजनीति आफ्ना लागि होइन जनताका लागि हो भन्ने विश्वास दिलाउनुपर्ने उनको भनाइ थियो ।
नेता सिटौलाले आफूसँग जोडिएका व्यक्तिलाई १४औँ महाधिवेशनमा स्थापित गराएर छाड्ने बताएका छन् । “अभाव, सङ्कट र दुःखमा साथ दिने साथीहरुका लागि उचित सम्मानका लागि मैले पहल गर्नेछु”, उनले भने ।
कांग्रेस केन्द्रीय सदस्य एवम् खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले पार्टीभित्रका गलत प्रवृत्तिको अन्त्य गर्दै पार्टीलाई थप बलियो र मजबुद बनाउनका लागि अगाडि बढ्नुपर्ने बताए ।
अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल, शिवप्रसाद हुमागाईंलगायतले समयसापेक्ष विचार अगाडि बढाउन सकेमात्र कांग्रेस अगाडि बढ्न सक्ने बताए । उनीहरुले पार्टीको १४औँ महाधिवेशनमा पार्टीलाई शक्तिशाली बनाएर अगाडि बढ्ने विश्वाससमेत व्यक्त गरेका थिए ।
प्रदेश १ का नवनिर्वाचित सभापति उद्धव थापाले पार्टीको १४औँ महाधिवेशनले कांग्रेसलाई थप बलियो बनाउने उल्लेख गरे । रासस
प्रतिक्रिया