नयाँ दिल्ली । भारतीय सेना प्रमुख विपीन रावत र उनकी पत्नी बोकेको भारतीय वायुसेनाको दुर्घटनाग्रस्त सैन्य हेलिकोप्टरमा यात्रारत १४ जनामध्ये तेह्र जनाको मृत्यु भएको पुष्टि भएको छ ।
बुधबार तमिलनाडुको निलगिरि पहाडी जिल्लाको कूनर नजिकै दुर्घटना भएको थियो । स्रोतका अनुसार डिएनए परीक्षणमार्फत शवको पहिचान पुष्टि हुनेछ । छानविनको आदेश भएपनि सिडीएस रावत, उहाँकी श्रीमती र अन्य सैनिक कर्मचारी बोकेको आइएएफको एमआई–१७–भी–५ हेलिकोप्टर दुर्घटनामाबारे सरकारले बिहीबार संसदलाई जानकारी गराउने बताइएको छ ।
विमान कोयम्बटोरस्थित सुलुर आईएएफ सैन्य सिविरबाट वेलिङ्गटनस्थित ‘डिफेन्स स्टाफ कलेज’तर्फ जाँदै थियो ।
यसैबीच, रक्षामन्त्री राजानाथ सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुर्घटनाबारे जानकारी गराएका छन् । भारतीय प्रधानमन्त्री मोदीले घटनाबारे प्रतिक्रिया दिँदै ट्वीटमा सैनिक हेलिकोप्टर दुर्घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् । हेलिकोप्टर दुर्घटना भएको ठाउँबाट निकालिएका शवहरु सैनिक अस्पताल वेलिङ्गटन लगिएको छ ।
यसअघि तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यमा आवश्यक सबै सहयोग उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिएको बताएका थिए । प्रारम्भिक जानकारीमा तामिलनाडुका वनमन्त्री के रामचन्द्रनले भने दुर्घटनामा सवार पाँच जनाको मृत्यु भएको जानकारी दिएका थिए ।
दुर्घटनाग्रस्त हलिकोप्टरमा सवार जनरल रावतसहित मृतक सैनिक तथा कर्मचारीहरूको नामावली भारतीय वायु सेवाले सार्वजनिक गरिसकेको छ ।
दुर्घटनामा सिडीएस जनरल रावत र उनकी पत्नी मधुरिका रावत, ब्रिगेडियर एलएस लिडर, लेफ्टिनेन्ट कर्नल हरजिन्दर सिंह, एनके गुरसेवक सिंह, एनके जितेन्द्र कुमार, एल÷एनके विवेक कुमार, एल/एनके बी साई तेजा र हाव सत्पाललगायत विमानमा सवार थिए । आइएएफले दुर्घटनाको छानविन गर्न निर्देशन दिएको छ । एजेन्सी
प्रतिक्रिया