मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

मङ्सिरमै तराईमा लगलगी कमाउने जाडोको कहर

मङ्सिरमै तराईमा लगलगी कमाउने जाडोको कहर


होत्तरी । यसपालि मध्य मङ्सिरअघि नै चिसो छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मध्य मङ्सिरअघि नै चिसोको कहर बढेको हो । विगत वर्षमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर मध्यपूर्व नै ह्वात्तै बढेको छ । जारी मङ्सिरको दोस्रो साता प्रारम्भ भएसँगै एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो हावा लगातार बहिरहेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईमा जनजीवन कष्टकर बनेको छ ।
 
जिल्लाको मध्य र दक्षिणी भेगमा बिहान हुस्सुले ढाक्दै आएको छ । मध्याह्नसम्म घाम देखिँदैन । यसपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि यसपालि मङ्सिर निगल्दो नै जाडो निकै बढेको हो । 
 
जिल्लाको उत्तरी भेगको पूर्वपश्चिम राजमार्गवरपर बिहानै घाम झुल्के पनि तुषारोसँगै सिरेटो चल्ने क्रमले चिसो निकै बढाएको छ । मध्य र दक्षिणी भेगमा त मङ्सिर दोस्रो साता लागेसँगै एकाबिहानैदेखि  बाक्लो हुस्सुले ढाक्दै आएको छ । मध्याह्नपछि देखिने घाम पनि मधुरो हुँदा यसपालि मध्य मङ्सिरअघि नै जाडो बढेको जलेश्वर नगरपालिका–५, पर्साका रामनारायण राउतले जानकारी दिए । 
 
एक्कासि बदलिएको मौसमले व्यापार व्यवसाय मात्र नभएर कृषि कार्य पनि प्रभावित छन् । मङ्सिर मध्यपूर्व नै यस्तो चिसो भएपछि यस भेगका बूढापाका पुस, माघ झन् कस्तो होला भन्दैछन् । “खै उमेरले ६० वर्ष टेक्न लागियो, मङ्सिरमै यसरी लगलगी कमाउने जाडो त त्यति भोगेको सम्झनै छैन”, भङ्गाहा नगरपालिका–४, रामनगरका ५९ वर्षीय किसान सत्यनारायण यादवले भने, “खै, यो दुई वर्षदेखिको कोरोना त्रासले जाडो चाँडै बढाएको त हैन ?”
 
बढ्दो जाडोले यस भेगका गरिब र दलितबस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नपर्ने अवस्था बनेको छ । “जाडो त सबैलाई हो त नि…! हुनेखानेले जाडोबाट बच्ने सरजाम (बन्दोबस्त) घरमै जुटाउलान्, हामी बनीबुतो गरेर गुजारा गर्नेको चाहिँ के हविगत हुने हो अब”, जिल्लाको बलवा नगरपालिका–१० को मुसहरीटोलका पलट माझी मुसहरले चिन्ता व्यक्त गरे ।
 
चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी र ससाना नानीहरुको स्याहार, सम्भार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घरवरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्ती बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् ।
 
यसैबीच, जिल्लाका स्वास्थ्य संस्थाहरुले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहारसम्भारमा ध्यान दिन आग्रह गरेका छन् । घरमा आफ्नै वरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरूरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घरवरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन् । 
 
यसबाहेक फोहोर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लास्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुवाँले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले बताए ।
 
चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलितबस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक सङ्घसंस्थाले आग्रह गरेका छन् । “क्षति हुन थालेपछि मात्र राहतका पोका बोक्ने बानी छ हाम्रो, अब स्थानीय तहको नेतृत्व चनाखो हुनपर्छ”, प्रयासका अध्यक्ष प्रवीण कर्णले भने, “अहिलेको तदारूकताले क्षति कम गर्न सकिन्छ ।”
 
मङ्सिरमै लगलगी कमाउने चिसो बढेपछि पुस र माघ झनै चिसो बढ्ने अड्कलले गरिब बस्तीमा चिन्ता बढेको छ । गरिब बस्तीका बासिन्दाले जाडोबाट बचाउने उपायका लागि आआफ्ना बस्तीका स्थानीय तहका प्रतिनिधि गुहार्न थालेका छन् ।
 
यसैबीच, जिल्ला समन्वय समितिको कार्यालयले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपालि हुन नदिन पूर्वसतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ । रासस