मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

पार्टीभित्रको प्रतिस्पर्धालाई आम निर्वाचनमा प्रस्तुत गर्नुहुँदैन : डा महत

पार्टीभित्रको प्रतिस्पर्धालाई आम निर्वाचनमा प्रस्तुत गर्नुहुँदैन : डा महत


काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनमा प्रस्तुत गर्न नहुने बताएका छन् ।  
 
काठमाडौँ जिल्ला सभापति पदमा उपेन्द्र कार्की समूहको उम्मेदवारी घोषणासभामा आयोजित कार्यक्रममा उनले पार्टीको आन्तरिक जीवनमा हुने प्रतिस्पर्धा सामान्य भएको भन्दै यसलाई आम निर्वाचनमा प्रस्तुत गर्न नहुने बताएका हुन् ।  
 
सहमहामन्त्री डा महतले आन्तरिक प्रतिस्पर्धामा असहिष्णुता हुन नहुने भन्दै एकअर्कालाई होच्याउने काम नगर्न सुझावसमेत दिए । “नेताले कमीकमजोरी गरे त्यो स्वीकार गर्ने संस्कृति बसाउनुपर्छ, जित्ने हार्ने दुवैले पार्टी, जनता र सिद्धान्त प्रमुख ठानेर काम गर्नुपर्छ, पार्टीमा व्यक्तिभन्दा विचार र संस्था महत्त्वपूर्ण हुन्छ”, उनले भने । 
 
पार्टीको १४औँ महाधिवेशनबाट पार्टी रूपान्तरण र बलियो बनाउन आवश्यक रहेको उनको भनाइ थियो । कांग्रेस काठमाडौँका सभापतिका उम्मेदवार कार्कीले कांग्रेसमा नयाँ ऊर्जा र सफलता थप्नका लागि आफूले सभापति पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए । 
 
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत, किरण गिरी, ध्यानगोविन्द रञ्जित, सांसद भीमसेनदास प्रधानलगायतको उपस्थिति रहेको थियो । कार्की समूहबाट उपसभापतिमा धर्म अर्याल र रामलाल श्रेष्ठ, सचिवमा सागरदास रञ्जित, सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानले उम्मेदवारी दिने भएका छन् । रासस