चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाकै कारण कांग्रेस निरीह बनेको बताएका छन् ।
नेपाली कांग्रेस रत्ननगर वडा नं १३ को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले देउवाको कार्यशैलीका कारण कम्युनिस्टको अगाडि कांग्रेस निरीह बन्नुपरेको बताए । नेता पौडेलले १३ औँ महाधिवेशनमा देउवालाई सभापति बनाएर गरेको गल्तीको सजाय अहिले भोगिरहेको बताए ।
१३ औँ महाधिवेशनमा देउवालाई सभापति बनाएका कारण कांग्रेसले तीनै तहको निर्वाचनमा हार व्यहोर्नुपरेकोे उल्लेख गर्दै १४ औँ महाधिवेशनमा भएको गल्ती नदोहो¥याउन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
कांग्रेसलाई रुपान्तरण गर्न आवश्यक रहेको भन्दै नेता पौडेल राष्ट्रियता, लोकतन्त्र र समाजवादको नाराले मात्र कांग्रेसले नयाँ जीवन पाउन नसक्ने बताए । कांग्रेसको सिद्धान्तले मात्र देशको मूल पार्टी नबन्ने भन्दै उनले जनजीविका र विकासको एजेन्डालाई प्राथमिकतामा राखेर पार्टीलाई रुपान्तरण गर्नुपर्ने बताए ।
अघिल्ला तीन तहको निर्वाचनमा ३० प्रतिशतको हैसियतमा कांग्रेस खुम्चिनुपरेको भन्दै वरिष्ठ नेता पौडेलले आन्तरिक एकता हुन सके कांग्रेसले आगामी चुनाव जित्छ । ‘कांग्रेस कमजोर पार्टी होइन, बनाइएको हो’ उनले भने, ‘नेता नेता र कार्यकर्ता कार्यकर्ताबीचमा एकता हुने हो भने अब कांग्रेस देशको मूल पार्टी बन्नेछ ।’
नेता पौडेलले सभापति देउवा महाधिवेशन नगर्ने मोडमा रहेको बताए । ‘देउवाले महाधिवेशन चाहेका छैनन्’, उनले भने, ‘यसले कांग्रेसलाई झन कमजोर बनाउने छ ।’ १४औँ महाधिवेशन कांग्रेसको भविश्य निर्धारण गर्ने अन्तिम परीक्षा रहेको भन्दै पार्टीलाई बलियो बनाउन सक्ने र योगदान गरेको मान्छेलाई मौका दिनुपर्ने बताए ।
नेता पौडेलले पार्टीको सिद्धान्तअनुसार नेताको आचरण र व्यवहार नभएका कारण कांग्रेस पछाडि परेको उल्लेख गरे । नेता पौडेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीशबीचमा भएको सेटिङका कारण सर्वोच्च अदालतमा अहिले रडाको मच्चिएको बताए ।
‘अदालतमा कुटाकुट हुन्छ’, उनले भने, ‘हाम्रो न्यायालय कता जाँदै छ ।’ सबैको भरोसाको केन्द्र अदालत रहेको भन्दै उनले न्यायलयको अहिलेको अवस्था हेर्दा मुलुक ध्वस्त हुने हो कि भन्ने भय बढेको छ ।
कम्युनिस्टप्रति जनताको भरोसा टुट्दै गएको भन्दै उनले कांग्रेस अब विकासको नारा लिएर जनताको माझमा जानुपर्ने बताए । कार्यक्रममा केन्द्रीय सदस्य बद्रि पाण्डेले कम्युनिस्टहरु देशमा समस्या बन्दै गएको बताए ।
देशको पहिलो समस्या कम्युनिस्ट, दोस्रो समस्या भ्रष्टाचार रहेको भन्दै उनले अबको एकमात्र विकल्प कांग्रेसमात्र रहेको बताए ।
वडा सभापति टोमराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वडाभित्रका एकदर्जन कांग्रेसका पुराना कार्यकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्वमन्त्री शेषनाथ अधिकारी, जिल्ला सभापति जितनारायण श्रेष्ठ, नगर सभापति प्रल्हाद सापकोटा, क्षेत्रीय सभापति राजु सिलवाललगायतले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया