चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले नै देशको भविष्य निर्माण गर्ने बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगर समितिले आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादी देशको केन्द्रबिन्दु बन्ने बताएका हुन् ।
उनले भने, “तपाईंहरुलाई अब माओवादी सिद्धियो–सिद्धियो भन्ने लाग्यो होला तर त्यस्तो होइन फेरि एक पटक माओवादी पार्टीनै यो देशको भविष्य निर्माता बनेर आउँछ ।” माओवादीले मात्र देशको रक्षा र जनताको हितमा काम गर्ने उनको भनाइ थियो । आगामी आमनिर्वाचनबाट माओवादी देशको नेतृत्व गर्ने पार्टीको रुपमा आउने भन्दै उनले सबै कार्यकर्तालाई हृदयदेखि सहयोग गर्न आग्रह गरे । उनले भने, “म त हाम फालेकै छु हाम फालिराख्छु । तपाईहरु लाग्नुस् ।”
माओवादी सरकारमा हुँदा वा नहुँदा जुनसुकै समयमा पनि जनताकै बीचमा रहेर जनअपेक्षाअनुसार काम गरेको दाबी उनले गरे । उनले आफू राजनीति र जनताको कामबाट नथाक्ने र कहिल्यै नभाग्ने बताए । उनले आफू चितवनबाट कतै नभाग्ने पनि बताए ।
उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति इङ्गित गर्दै भने, “प्रचण्ड भाग्छ भनेर आत्मरतिमा नरमाउनुस् ।” एमालेको महाधिवेशन चितवनमा हुने भएपछि अब प्रचण्ड भाग्छ र कालीकोट या बर्दिया जान्छ भन्ने भित्रभित्रै प्रचार गरिएको उनको भनाइ थियो । उनले भने, “मैले अस्ति यहाँ आएर भनिसकेको छु, म कतै जान्न अब । म चितवन छोड्दिन र विकासका काममा थाक्दिन पनि ।”
माओवादी केन्द्रका महानगर इञ्चार्ज रेनु दाहालको अध्यक्षमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी केन्द्रमा प्रवेश गर्नेलाई अध्यक्ष दाहालले स्वागत गरेका थिए । रासस
प्रतिक्रिया