मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

माडीको विकासका लागि अरुलाई भन्दा मलाई बढी चिन्ता र चासो छ : अध्यक्ष प्रचण्ड

माडीको विकासका लागि अरुलाई भन्दा मलाई बढी चिन्ता र चासो छ : अध्यक्ष प्रचण्ड


चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र रहेको माडीको विकासका लागि अरुलाई भन्दा आफूलाई बढी चिन्ता र चासो रहेको बताएका छन् । 
 
जिल्ला प्रशासन कार्यालय चितवन र माडी नगरपालिकाले बिहीबार माडीको बाँदरझुलामा आयोजना गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माडी बनाउनका लागि नभएर प्रोपोगाण्डाका लागि राम मन्दिरको कुरा उठाइएको बताए । माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरिएको उनको भनाइ छ । 
 
उनले भने “ऐतिहासिक तथ्य र अन्वेषण गरेरमात्र राम मन्दिर निर्माण गर्ने पक्षमा म छु ।” फरक प्रसङ्गमा उनले सुकुमबासी समस्या छिट्टै समाधान हुने बताए । उनले सुकुमबासीको समस्या समाधान गर्नेतर्फ सरकार लागेको बताए । माडीको बाँदरझुला सुकुमबासी बस्ती हो । दाहालले भने, “मैले भूमिसुधार मन्त्री र राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई भनिसकेको छु, ठोस कार्य योजना बनाएर लालपूर्जा वितरण गर्नुहोस् ।”
 
उनले आफूले निर्वाचनको समयमा गरेको वाचा पूरा गर्दै अगाडि बढेको बताए । दाहालले रिउ करिडोरमा तटबन्ध, दर्जन बढी नदीमा पक्की पुल र सडक कालोपत्रेको काम धमाधम भइरहेको भन्दै सुकुमबासी बस्ती हनुमानझुलामा बिजुली बत्ती विस्तारका लागि काम गरिरहेको बताए । 
 
सो अवसरमा दाहालले स्थानीय ज्येष्ठ नागरिकलाई नागरिकता वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, माओवादी केन्द्रका नेता प्रभु महतो, नेकपा समाजवादीका नेता नारदमणि पौडेल, प्रमुख जिल्ला अधिकारी आसमान तामाङलगायत बाँदरझुलामा नागरिकता र लालपूर्जाको समस्या समाधान गर्न दाहालसँग आग्रह गरे । रासस