मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरूलाई भोकमरीको जोखिम

उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरूलाई भोकमरीको जोखिम


काठमाडौँ  संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकारसम्बन्धी विशेष दूत टमस ओजा क्विन्टानले खाद्यान्न अभावका लागि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू र कोभिड नाकाबन्दी जिम्मेवार रहेको बताएका हुन् ।
 
परिणामस्वरूप उत्तर कोरियालीहरूले मर्यादित जीवन जिउन दैनिक संघर्ष गरिरहेका क्विन्टानले बताए । संकटबाट जोगिन उत्तर कोरियाको परमाणु कार्यक्रममाथि लगाइएको प्रतिबन्धहरू हटाउनुपर्ने उनको भनाइ छ ।
 
उत्तर कोरिया गम्भीर आर्थिक संकटमा रहेको ठानिएको छ । उसले कोभिड-१९ फैलन नदिन आफ्ना सीमाहरू बन्द गरेको छ । फलस्वरूप चीनसँगको व्यापारमा गिरावट आएको छ । उत्तर कोरिया खाद्यान्न, मल र इन्धनमा चीनमाथि निर्भर छ ।
 
 
यसै हप्ता नेता किम जोङ उनले देशले एक गम्भीर स्थितिको सामना गरिरहेको स्वीकार गरेको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको थियो । उत्तर कोरियामा मूल्य वृद्धि भएको खबरहरू आएका थिए । एनके न्यूजले गत जुनमा एक किलोग्राम केराको मूल्य ४५ डलर पुगेको जनाएको थियो ।
 
पछिल्लो प्रतिवेदनमा विशेष दूत क्विन्टानले सुरक्षा परिषद्को अन्तर्राष्ट्रिय प्रतिबन्धहरू खुकुलो पार्नुपर्ने र मानवीय एवम् जीवन रक्षक सहायतालाई अनुमति दिनुपर्ने बताएका छन् ।
 
राष्ट्रपति जो बाइडनको नेतृत्वमा अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको बारम्बार बताउँदै आएको छ । तर प्रतिबन्ध खुकुलो पार्नुअघि प्योङयाङले परमाणु हतियार त्याग गर्नुपर्ने माग राखेको छ । उत्तर कोरियाले अहिलेसम्म त्यसलाई अस्वीकार गरेको छ ।
 
यसै हप्ताको सुरुतिर नेता किमले अमेरिकाको नियतमाथि प्रश्न गर्दै आत्मरक्षाका लागि हतियार निर्माण जारी राख्नु जरुरी रहेको बताएका थिए । बिबिसी