मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

विश्वमा नेपालको संस्कृति र पर्यटन प्रवर्द्धन गर्न ‘नेसनल डेल्फिक काउन्सिल’ स्थापनाको घोषणा

विश्वमा नेपालको संस्कृति र पर्यटन प्रवर्द्धन गर्न ‘नेसनल डेल्फिक काउन्सिल’ स्थापनाको घोषणा


काठमाडौँ । नेपाली कला संस्कृतिलाई विश्वमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ को नेपाल च्याप्टर ‘नेसनल डेल्फिक काउन्सिल नेपाल’ स्थापना भएको छ । कला, संस्कृतिमा आधारित खेलकुद तथा कलाका विभिन्न विधाहरुलाई विश्वमाझ चिनाउने प्लेटफर्मका रूपमा स्थापना भएको उक्त काउन्सिल आज काठमाडौँमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
 
श्रीदेव बिएलको अध्यक्षतामा गठन भएको काउन्सिलको उपाध्यक्षमा जीवनकुमार पराजुली, महासचिवमा नरेशध्वज श्रेष्ठ, सचिवमा सूर्यबहादुर रासकोटी, कोषाध्यक्षमा सवेरा नकर्मी श्रेष्ठ तथा सदस्यहरुमा शारदा खड्का अर्याल र दीपक विष्ट गौली रहेका छन् । 
 
त्यस्तै सल्लाहकारमा संस्कृतिविद् बदनलाल न्याछोर, नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, बोर्डकै पूर्वनिर्देशक कृष्णकुमार अर्याल, अधिवक्ता सर्वज्ञराज नायो र कानूनी सल्लाहकारमा आशिष शर्मा रहेका छन् ।
 
‘नेसनल डेल्फिक काउन्सिल नेपाल’ ले वरिष्ठ मानार्थ र मानार्थ सदस्यता पनि वितरण गरेको छ । शताब्दी पुरुष साहित्यकार तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई काउन्सिलले विशिष्ट मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गरेको छ । मानार्थको सदस्यता प्राप्त गरेपछि भिडियो सन्देशमार्फत संस्कृतिविद् जोशीले नेपालको कला र संस्कृतिलाई विश्वमाझ पु¥याउन काउन्सिलले महत्त्वपूर्ण भूमिकामा खेल्ने विश्वास व्यक्त गरे । 
 
त्यस्तै चलचित्र क्षेत्रबाट नेपालको पहिलो नायिका भुवन चन्द, हास्यसाम्राज्ञी बसुन्धरा भुसाल, वरिष्ठ अभिनेत्रीहरु मिथिला शर्मा, शर्मिला मल्ल र सूर्यमाला खनाल, वरिष्ठ अभिनेताहरु शिव श्रेष्ठ, भुवन केसी, धिरेन शाक्य, सरोज खनाल र कृष्ण मल्ल, कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का र वरिष्ठ निर्देशक मोहन निरौललाई मानार्थ सदस्यता प्रदान गरिएको छ । चित्रकलाबाट जया शर्मा, जात्रा तथा संस्कृतिविद् मनोज नेवा र उपन्यासकार निजिरोष श्रेष्ठलाई पनि मानार्थ सदस्यता प्रदान गरिएको छ । 
 
काउन्सिलको सद्भावना दूतका रूपमा वरिष्ठ क्याप्टेन एवं कलाकार विजय लामा नियुक्त भएका छन् । सद्भावना दूतका रूपमा नियुक्त भएका क्याप्टेन लामाले नेपालको कला, संस्कृतिलाई विश्वमाझ पु¥याउन काउन्सिलको माध्यमबाट प्रयास गर्ने बताए । उनले देशको कला संस्कृतिलाई विश्वमाझ पु¥याएर पर्यटन भित्र्याउन सकिने बताए ।
     
जर्मनीको बर्लिनमा ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’को मुख्यालय रहेको छ । यसका संस्थापक तथा सेक्रेटरी जनरल क्रिष्टियन बी कर्ष हुन् । कर्षले नेपाल च्याप्टरलाई बधाई र सफलताको भिडियो सन्देश पठाउँदै १६ सय वर्षदेखि शून्य अवस्थामा रहेको डेल्फिक काउन्सिललाई तीस वर्षअगाडि पुनः सञ्चालन गरेको तथा तीस वर्षमा नेपालसम्म आइपुगेकामा खुसी व्यक्त गरे ।   
 
प्राचीन समयमा ग्रिसबाट ओलम्पिकसँगै सुरु भएको डेल्फिक विभिन्न कारणले बन्द भएको थियो । प्राचीन ग्रिसका शासकहरुद्वारा यी दुवैमाथि रोक लगाइएको थियो । ओलम्पिक सन् १८९४ मा पुनः सुरु भयो भने डेल्फिक त्यसको एक सय वर्षपछि सन् १९९४ मा पुनः सञ्चालन भएको थियो । प्राचीन ग्रिसको डेल्फी भनिने स्थानबाट डेल्फिक सुरु भएको मानिन्छ ।
 
विश्वमाझ नेपालको कला, संस्कृतिका छ विधालाई प्रस्तुत गर्ने साझा प्लेटफर्मका रूपमा काउन्सिल स्थापना भएको अध्यक्ष श्रीदेव बिएलले बताए । उनले भने, “कुनै पनि राष्ट्रको पर्यटन प्रवद्र्धनका लागि होस् वा देशलाई चिनाउने सन्दर्भमा होस्, कला, साहित्य, संस्कृतिको महत्वपूर्ण भूमिका रहन्छ । काउन्सिल नेपालले यिनै कुराहरुलाई विश्वमाझ पु¥याउन भूमिका खेल्नेछ ।”
 
हरेक चार वर्षमा अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलले संसारका विभिन्न देशमा आयोजना गर्ने ‘वल्र्ड कन्भेन्सन’ मा नेपालको प्रतिनिधित्व गर्दै काउन्सिलले नेपालको कला, संस्कृतिलाई प्रस्तुत गर्ने अध्यक्ष बिएलले बताए । काउन्सिलले कलाका विभिन्न विधालाई एउटै छातामा समेट्न प्रयास गर्ने उनको भनाइ छ । नेपालसहित यो काउन्सिलको १४७ देशमा स्थापना भइसकेको जनाइएको छ । रासस