नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा पुनः कमी आएको छ । दैनिक सङ्क्रमितको यो संख्या २१४ दिनपछिको सबैभन्दा कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । अघिल्लो दिन १९ हजार ७४० जना नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घन्टामा १८ हजार १६६ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने गरेको जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि सात महिनापछिकै सबैभन्दा कम रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार भारतमा अहिले दुई लाख ३० हजार ९७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । अघिल्लो दिन भने दुई लाख ३६ हजार ६४३ जना रहेका मन्त्रालयका अधिकारीले जनाएका थिए ।
भारतमा गत २४ घन्टामा कोरोना सङ्क्रमणको कारण २०८ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाको कारण मृत्यु हुने चार लाख ५० हजार ५८९ जना पुगेको छ ।
भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढ्दै गइरहेको र नयाँ थपिने सङ्क्रमितको सङ्ख्या घट्दै गएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि कम हुदै गएको हो ।
पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या २३ हजार ६२४ रहेको छ । भारतमा अहिलेसम्म तीन करोड ३२ लाख ७१ हजार ९१५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेका छन् । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु गरिएको थियो ।
भारतका हिजो एकै दिनमा ६६ लाख ८५ हजार ४१५ डोज कोरोनाविरुद्धको खोप लगाइएको छ । भारतमा हालसम्म ९४ करोड भन्दा बढी व्यक्तिले कोरोना विरुद्धको खोप लगाएका छन् । एजेन्सी
प्रतिक्रिया