विचार / ब्लग

महिषासुर को थियो र उसको अन्त्य कसरी भयो ?

प्रकाशित |
विष्णु भगवान्का अंश अवतार भगवान् वेदव्यासद्वारा रचित १८ पुराणहरुमध्ये श्रीमार्कण्डेयपुराणको देवीमहात्म्य खण्डमा दुर्गा भगवती र महिषासुरका बारेमा विस्तृत वर्णन गरिएको छ । कुनै समयमा एकादेशमा रम्भा नाम गरेको एक असुर राजा थियो । ब्रह्माको बरदानका कारण ऊ ज्यादै शक्तिशाली थियो । शक्तिले उन्मत्त भएर यस दैत्यले जताततै विध्वंसात्मक कार्यहरु गर्न लाग्यो । उसले आफ्नो इच्छानुसार विभिन्न प्रकारको रुप बदल्न पनि सक्थ्यो ।
 
एक समयमा असुरराज रम्भाको यौटी अति सुन्दरी महिलासँग भेट भयो । ती दुवैबीच प्रेमभाव बस्यो, फलस्वरुप पति–पत्नी बने । ती महिलालाई भैँसी हुने श्राप परेको हुनाले उनी भैँसी भइन् जसको नाम महिषी रहन गयो । त्यसपछि रम्भासुरले आफ्नो भेष बदलेर भाले भैँसी अर्थात् राँगो बन्यो । यस अवस्थामा पहिलेको तुलनामा रम्भासुरसँग अरु जनावरसँग लड्नसक्ने शक्ति क्षीण भइसकेको हुनाले उसलाई राँगोले युद्धमा जितेर मारिदियो । आफ्नो पति यसरी मरेको देखेर पीडा सहन गर्न नसकी महिषी पनि पतिको चितामा हामफालेर स्वेच्छाले मर्ने निश्चय गरिन् ।
 
त्यतिबेला महिषी गर्भवती थिइन् । जब उनले जलिरहेको आफ्ना पतिको चितामा हामफाल्न भनी के तयार भएकी मात्र थिइन्, त्यहाँ यौटा आश्चर्य के हुन गयो भने  तत्क्षण नै दन्किरहेको आगोबाट मानव जातिको शरीर र भैँसीको टाउको भएको एक राक्षसी जन्तु पैदा भयो । यो नै थियो महिषासुर जुन रम्भासुरको स्थानमा उसैको जलिरहेको चिताबाट पैदा भएको थियो ।
 
चिताबाट उत्पत्ति भएको महिषासुर आफू बढी बलवान् बन्नका निम्ति वर्षौं–वर्ष खाना नखाई, झरी–बादल नभनी, जिउ–ज्यानको पर्वाह नगरी, भोक–भोकै यौटा खुट्टाले मात्र भुईंमा टेकेर ब्रह्माजीको स्तुति–गानगर्दै कठोर तपस्या ग¥यो । कमिलाले उसको शरीरमा माटोका पहाड बनाउन थाल्दै गर्दा पूरै शरीर धमिराले ढाकिन गयो । उसको तपस्याले तीनैलोकमा कम्पन ल्याउन थाल्यो । तपशक्तिको गुञ्जायमानले चारैतिर त्राहिमाम ! त्राहिमाम !! हुन लाग्यो । त्यसपछि ब्रह्मा उसको तपस्याबाट खुशी भएर त्यस राक्षससामु बरदान दिन भनी प्रकट भई वर माग्न भने । महिषासुरले अमरताको बरदान माग्यो । ब्रह्माले यस्तो बरदान दिन नसकिने र नमिल्ने भन्दै उसलाई कोही पुरूष देवता, दानव, मानव आदि कसैले पनि मार्न नसक्ने वरदान दिएर उनी त्यहाँबाट अन्तध्र्यान भए ।
 
महिषासुरले जब ब्रह्माबाट बरदान पायो तब आफू सर्वशक्तिवान भएँ भनेर हर्षले उफ्रन थाल्यो । चारैतिर हाहाकार मच्चाउन लाग्यो । ऋषिमुनिहरुका तप, हवन, आराधना आदि जस्ता धार्मिक कर्महरु र अनुष्ठानहरु सबै बन्द गरायो । उसको आदेशबिना कोही–कसैले कहीँकतै केही गर्न नपाइने भयो । धुम्रलोचन, चण्ड, मुण्ड, रक्तबीज, शुम्भ, निशुम्भ आदि जस्ता बलवान्, पराक्रमी एवम् शक्तिशाली योद्धाहरुसहितको एक शक्तिशाली सेना महिषासुरले तयार गर्‍यो । यस धरतीका मानव, दानव आदि कुनै शक्तिले पनि महिषासुरलाई परास्त गर्न नसक्ने भए । महिषासुरको नेतृत्वमा असुर सेनाहरु र देवराज इन्द्रको नेतृत्वमा देवसेनाहरुबीच १०० वर्षसम्म घसमान युद्ध भयो । 
 
देवताहरु असुरबाट पराजित भए । उनीहरु देवलोकबाट लखेटिए । महिषासुर इन्द्रासनमा बस्यो । देवताहरु पृथ्वीमा मानवसरह लुकी–लुकी विचरण गर्न लागे । समय बित्दै गयो । देवताहरुलाई असुरहरुको अत्याचार असह्य हुँदै जान थाल्यो । सबै देवताहरु मिली  सहयोगार्थ त्रिदेव (ब्रह्मा, विष्णु, महेश) समक्ष त्राहीमाम ! त्राहीमाम !! भन्दै गुहार माग्न गए । महिषासुरलाई ब्रह्माको बरदानअनुसार कोही पुरूषले मार्न नसक्ने कारणले गर्दाखेरि त्रिदेवले असुरहरुको अत्याचारप्रति क्रोधित भएर आ–आफ्नो शरीरबाट एक तेजपुञ्ज पैदागरी उक्त तेजपुञ्जलाई एकैठाउँमा एकत्रितगरी एक शक्तिको उत्पत्ति गर्ने निर्णय गरे । 
 
त्रिदेवबाट निर्मित यो शक्तिमा अरु सबै देवताहरुले पनि आ–आफ्नो शरीरबाट त्यस्तै तेजपुञ्ज निकालेर ती सबै तेजपुञ्जलाई एकै ठाउँमा मिलाएपछि त्यहाँ साक्षात् देवीको उत्पत्ति हुन गयो । देवताहरु सबैले उक्त देवीका नाममा स्तुति–आराधना गर्न लागे । यसरी त्यहाँ शक्ति स्वरुपिणी देवी भगवतीको प्राकट्य भयो । देवीको तेजस्वी प्रकाशले चारैतिर झलमल भयो । तीनैलोक कम्पायमान भयो । ती देवीलाई देवताहरुले आवश्यक सबै प्रकारका शस्त्र, अस्त्र, वस्त्र, अलङ्कार आदिले सुुसज्जित  पारी देवीको लागि वहान एक सिंह खडा गराए । असुर सेनाहरुसँग युद्ध गर्नका निम्ति आह्वान् गरे । देवताहरुको आह्वानअनुसार शक्तिस्वरुपिणी देवी सिंहमा चडेर महिषासुरलाई युद्धको चुनौती दिँदै हिमालय पर्वततिर लागिन् ।
 
हिमालय पर्वतमा एकअति सुन्दर महिला आएको थाहा पाएर महिषासुरले ती युवतीसँग विवाह गर्ने भन्ने प्रस्ताव लिएर एक असुर सेना देवीका सामुन्ने आयो । देवीले जसले मसँग युद्ध गरेर मलाई जित्छ, मैले त्यसैसँग विवाह गर्छु भन्ने सन्देश पठाइन् । महिषासुरले देवीसँग युद्ध गर्न आफ्ना शक्तिशाली योद्धाहरुलाई आलो–पालो गरी पठाउँदै गर्‍यो । देवीले तिनको बध गर्दै गरिन् । कतिपय असुर योद्धाहरु अणिमादि गुणले युक्त थिए । त्यसैले तिनलाई मार्नका निम्ति देवीले आफ्नो भिन्दा–भिन्दै शक्तिरुप बदल्नु परेको थियो । यसरी असुर सेनाहरु सबैलाई बध गर्न देवीलाई नौरुप बदल्नु परेको थियो र समय नौ दिन लागेको थियो । देवी र असुर सेनाहरुबीच युद्ध सुरू आश्विन शुक्ल प्रतिपदाको दिन भएको थियो भने युद्धान्त आश्विन शुक्ल दशमीको दिन महिषासुर बध भएपछि मात्र भएको थियो । 
 
(१) शैलपुत्री (२) ब्रह्मचारिणी (३) चन्द्रघण्टा (४) कुष्माण्डा (५) स्कन्दमाता (६) कात्यायनी (७) कालरात्री (८) महागौरी र (९) सिद्धिदात्री गरी देवीका नौ थरी–थरीका शक्तिरुप यिनै थिए । त्यसै समयदेखि नेपाल, भारतलगायत अन्य हिन्दु   तथा बौद्धमार्गी मुलुकहरुमा देवीका यी नौ शक्तिरुपका शक्तिपीठहरु विभिन्न स्थानमा स्थापना गरेर पूजा–अर्चना गर्ने परम्पराको थालनी हुन गयो । 
 
यी नौ दिनलाई नवरात्री अर्थात् नवदुर्गाका रुपमा मनाउने चलन पनि चल्न थाल्यो । दसौँ दिन महिषासुर जस्तो दुष्ट असुरको  देवीद्वारा युद्धमा बध गरी विजय पाएको दिन भएको हुनाले यस दिनलाई असत्यमाथि सत्यको विजय, दुर्जनमाथि सज्जनको विजय, दुराचारीमाथि सदाचारीको विजय आदिका रुपमा विजय उत्सव मनाउने चलन पनि त्यतिबेलादेखि नै चल्दै आउन थाल्यो । 
 
दशमीको दिनलाई विजयादशमीको रुपमा टीका लगाइदिने, लाउने, आशीर्वचन, शुभकामना आदान–प्रदान गर्ने–गराउने, मीठो–मसिनो खाने, राम्रा लुगा लगाउने, वरपरको वातावरण सफा–सुग्घर बनाउने आदि जस्ता रमाइला क्रियाकलापहरु गरी हर्षोल्लासका साथ उत्सव मनाउने हिन्दु परम्परा  त्यसै समयदेखि सुरूवात भएको किम्बदन्ती छ ।
 
देवी दुर्गा भगवतीका नाममा विभिन्न शक्तिपीठहरुमा पशुबली दिने चलन पनि छ । तर, शास्त्रमा यसरी देवीका नाममा बली दिनुपर्ने भनेर कतै उल्लेख भएको भेटिँदैन । आफ्नो शरीरबाट जति थोपा रगत जमिनमा खस्यो त्यति नै संख्यामा उस्तै शक्तिवान् राक्षस उत्पत्ति हुनसक्ने रक्तबीज नाम गरेको असुरमा गुण भएको हुनाले त्यस दुष्ट असुरलाई मार्न देवीलाई महाकालीको रुप धारण गरी उक्त असुरको रगत जमिनमा खस्नै नदिई आफैँले पिएर खाई मारेर लोकको कल्याण गर्नुपरेको थियो । अन्यत्र कतै देवीले रगत पिएको, बली मागेको, कुनै प्रकारको दृष्टान्त पाइँदैन । शास्त्रमा भनिएको छ–
 
त्यजेत् धर्म दयाहीनं विद्याहीनं गुरु त्यजेत् ।
त्यजेत्क्रोधमुखीं भार्या निःस्नेहान्बान्धवांस्त्यजेत् ।।
 
भावार्थ : दया नभएको धर्म, विद्या नभएको गुरु, मुखमुखै लाउने पत्नी र माया, सदासय नभएका बन्धु–वान्धवलाई त्याग्नु पर्छ । अब हामी हिन्दु धर्मावलम्बीहरुले देवीका नाममा पशुवली दिने प्रथा त्याग्ने कि हृ्रदयदेखि पालना गर्दै आएको स्वधर्म अर्थात् हिन्दुधर्म त्याग्ने ? यस प्रसङ्गमा हामी सबैले गम्भीर भएर सोच्नुपर्ने विषय यही हो । 
 
नवरात्री अथवा नवदुर्गा यदि नभइदिएको भए विजयादशमीको जन्म हुन सक्दैनथ्यो होला । त्यसैले यस पावन अवसरमा सबै हिन्दुहरुले एक–आपसमा शुभकामना आदान–प्रदान गरी हर्ष र खुशियाली मनाउनु अति आवश्यक देखिन्छ । शक्तिस्वरुपिणी  देवी भगवतीद्वारा महिषासुर र उसका सबै सेनाहरुको बध भएपछि त्यसै समयदेखि स्वर्गका देवताहरु सधैँका लागि सुरक्षित हुन गए भन्ने कुरा हाम्रा विभिन्न पुराणहरुमा उल्लेख भएको पाइन्छ । अस्तु ! 
 

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया