काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिएका छन् ।
मन्त्रिमण्डलको विस्तारपछि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देश, जनताको आवश्यकताअनुसार उत्साह र इमान्दार भएर जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्न निर्देशन दिएका हु्न् ।
मन्त्रिपरिषद्ले पूर्णता पाएपछि शुक्रबार पहिलोपटक मन्त्रिपरिषद्को पूर्ण बैठक बसेको हो । उनले देश, जनताको चाहनाअनुसार इमान्दार भएर काम गर्न निर्देशन दिएको नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मनत्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकले आजैदेखि लागू हुने गरी सरकारको प्रवक्ताको समेत जिम्मेवारी मन्त्री कार्कीलाई नै दिएको छ । यसअघि पनि उहाँ नै सरकारको प्रवक्ता हुनुहुन्थ्यो । बैठकमा प्रधानमन्त्रीले नवनियुक्त मन्त्रीहरूका कार्यकालको पूर्ण सफलताको कामनासमेत गरेका थिए ।
बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । यस्तै, मन्त्रिपरिषद्का समितिको पनि पुनःगठन गरिएको छ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालका सम्बन्धमा गलत प्रचार गरिएको भन्दै भ्रममा नपर्नसमेत सरकारले आग्रह गरेको छ ।
नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री देउवाले हमाललाई नियुक्त गरेको प्रवक्ता कार्कीले जानकारी दिए । उनले नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको उल्लेख गरे ।
नवनियुक्त मन्त्री हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र सोही आधारमा कांग्रेसका तर्फबाट नियुक्त भएको मन्त्री कार्कीको भनाइ छ । रासस
प्रतिक्रिया