काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सरकारबाट सहभागी हुने मन्त्रीको नाम शुक्रबार टुङ्गो लगाउने भएको छ । बिहीबार यहाँ बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले गर्ने भएको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
महासचिव बेदुराम भुसालको संयोजकत्वमा गठित ११ सदस्यीय केन्द्रीय सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । उनका अनुसार पार्टीले शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र श्रम, रोजगार तथा सामाजिक मन्त्रालय पाउने भएको छ । उनले भोलि सबै गठबन्धन दलले सरकारमा सहभागी हुने मन्त्रीको नामावली बुझाएपछि मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।
यस्तै, बैठकले एक उपमहासचिव र तीन सचिव थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए । उनका अनुसार उपमहासचिव खतिवडा र सचिवमा गरिमा शाह, जीवराम श्रेष्ठ र भागवत विश्वासी रहेका छन् ।
यस्तै, बैठकले केन्द्रीय सदस्य नामावली सार्वजनिक गर्न गृहकार्य गरे पनि शुक्रबार केन्द्रीय सचिवालयले नामावली टुङ्गो लगाउने उनले बताए । भोलि केन्द्रीय सदस्यको नामावली टुङ्गो लगाएपछि शनिबारसम्ममा नाम सार्वजनिक गर्ने उनको भनाइ छ । नेकपा (एकीकृत समाजवादी) को ३०१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।
पार्टीले अनुशासन, लेखा र निर्वाचन आयोगमा ३५ सदस्यीय हुने निर्णय गरेको छ । उनका अनुसार ती आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवको पद राखिने भएको छ । यस्तै केन्द्रीय विभाग २५ सदस्यीय, जिल्ला कमिटी १०१ सदस्यीय, स्थानीय तहका कमिटीमा अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक र उपसचिव दुई गरी छ पदाधिकारी राख्ने निर्णय गरिएको छ । बैठकले विजय गुरुङको संयोजकत्वमा सम्पर्क कमिटी गठन गरेको छ ।
महासचिव बेदुराम भुसालको संयोजकत्वमा गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल र जगन्नाथ खतिवडा रहेको केन्द्रीय कार्यालयसमेत गठन गरिएको छ । प्रचार विभाग प्रमुख खतिवडाले पार्टीले दैनिक कार्य सञ्चालन गर्नका लागि महासचिव भुसालको संयोजकत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको जानकारी दिए ।
बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको छ । उनले प्रदेश नं १ र बागमती प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीले पाउने सहमति गठबन्धन दलबीच भइसकेको जानकारी दिए । रासस
प्रतिक्रिया