मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

एमसिसी कम्प्याक्टको विरोध गर्नुपर्ने कारण छैन : डा. पौडेल

एमसिसी कम्प्याक्टको विरोध गर्नुपर्ने कारण छैन : डा. पौडेल


चितवन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्टको विरोध गर्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पारेका छन् । 
 
एमसिसी सम्झौता लेख्ने काम आफूले नै गरेको भन्दै उनले एमसिसी संविधानभन्दा माथि रहेको कुतर्क गरेर विरोध गर्नुको कुनै अर्थ नरहेको बताए । उनले भने, ‘नबुझेका विषयमा स्पष्ट हुनु राम्रो कुरा हो । तर, एमसिसीमा अनावश्यक शंका गर्नुपर्ने कारणचाहिँ राजनीतिमात्र हो ।’ 
 
‘३० दिनको सूचना दिएर रद्द गर्न सकिने सम्झौता कसरी संविधानभन्दा माथि हुन्छ ?’, उनले भने, ‘स्रोत जुटाएर देशको विकास गर्नुपर्ने अवस्थामा एमसिसीको विरोध गर्नु उचित होइन ।’  
 
पूर्वी चितवनको रत्ननगर उद्योग वाणिज्य संघको २२ औँ वार्षिक साधारण सभामा बोल्दै उनले अमेरिकनहरुले चितवनमा पनि ठूलो गुन लगाएको स्मरण गराए । 
 
उनले भने, ‘चितवनको नारायणगढदेखि हेटौँडासम्मको सडक पहिले अमेरिकनले बनाएका हुन्, खोइ त्यसबेला अमेरिकी सेना ल्याएको हामीले देखेनौँ, मान्छे मारेको देखेनौँ, रामपुर क्याम्पस अमेरिकनले नै बनाइदिएका हुन् ।’ पर्याप्त बजेट नहुँदा सहयोग जुटाएर काम गर्नुपर्ने बाध्यता भएकाले अमेरिकी सहयोगप्रति शंका गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ थियो । 
 
डा. पौडेलले देश निर्माणका लागि विकासमा ध्यान दिन आवश्यक रहेको औँल्याए । तीन अर्ब सहयोग आउँदा एक अर्ब पनि खर्च गर्न नसक्ने अवस्थाको अन्त्य गरी स्पष्ट भिजनका साथ काम गर्नेगरी विकास गर्न आवश्यक रहेको उनले बताए । 
 
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा बागमती प्रदेशसभा सदस्य कञ्चन खनाल, जिल्ला समन्वय समिति चितवन प्रमुख कृष्णकुमार डल्लाकोटी, चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, रत्ननगर नगरपालिका मेयर नारायण वन, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सहनलाल प्रधानलगायतले मन्तव्य व्यक्त गरेका थिए । 
 
सभामा संघका महासचिव निराजन खनालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।