मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

काठमाडौँ–मेघौली र काठमाडौँ–सुनौली पर्यटकीय बससेवा सुरु

काठमाडौँ–मेघौली र काठमाडौँ–सुनौली पर्यटकीय बससेवा सुरु


काठमाडौँ । काठमाडौँबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा सुरु गरिएको छ । विसं २०६० देखि काठमाडौँ–पोखरा पर्यटकीय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बससेवा प्रालिले आजदेखि काठमाडौँ–मेघौली बस सेवा सुरु गरेको हो ।
 
प्रालिका अध्यक्ष प्रल्हाद लोहनीले कोरोनाबाट थलिएको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पहिलोपटक काठमाडौँ–मेघौली पर्यटक बस सेवा सञ्चालन गर्न लागेको जानकारी दिए । “आन्तरिक पर्यटन प्रवद्र्धनका लागि स्वास्थ्य मापदण्डलाई पालना गर्दै नयाँ गन्तव्यस्थलमा पर्यटकीय बस सेवा विस्तार गरेका हौँ”, उनले भने ।
 
यस्तै उक्त बस सेवाले आजैदेखि काठमाडौँ–भैरहवा–सुनौलीसमेत बस सेवा विस्तार गरेको छ । भारतीय पर्यटकलाई लक्षित गरेर काठमाडौँ– भैरहवा–सुनौली बस सेवा विस्तार गरिएको अध्यक्ष लोहनीको भनाइ छ । नयाँ गन्तव्यमा बस विस्तार गरेसँगै अब दैनिक चार बसले यात्रुलाई सेवा प्रदान गर्ने भएका छन् ।
 
काठमाडौँदेखि मेघौलीका लागि हरेक दिन बिहान ७ः०० बजे सोह्रखुट्टेबाट र काठमाडौँदेखि भैरहवा हुँदै सुनौलीसम्म हरेक दिन बिहान ७ः३० बजे बालाजुबाट बस छुट्नेछन् । उक्त बसको टिकट प्रालिको कार्यालय, अनलाइन र इसेवामार्फत काट्न सकिने अध्यक्ष लोहनीले बताए । 
 
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण उक्त कार्यक्रम स्थगन गरिएको थियो । राजधानीको मुख्य पर्यटकीयस्थल ठमेललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले सेवा प्रदान गर्दै आए पनि कोरोनाका कारण उक्त बस सेवा रोकिएका थिए । 
 
हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् । रासस