काठमाडौँ । नेकपा (एमाले) को केन्दीय कमिटी बैठकले हाल कायम रहेको पदाधिकारी सङ्ख्या हेरफेरको प्रस्ताव अघि बढाएको छ । तीन दिनदेखि जारी बैठक समापनपछि बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख योगश भट्टराईले महासचिव, उपमहासचिव र सचिवको सङ्ख्या हाल रहेको कायम गर्दै सातजना उपाध्यक्षको विषय समूहगत छलफलमा उठेको बताए ।
उनका अनुसार सो विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सकारात्मक छन् । अध्यक्ष ओलीले उपाध्यक्ष बढाउँदा त्यसले कमिटीमा पार्नसक्ने प्रभाव ध्यान दिनुपर्ने बताएका थिए ।
विधान राष्ट्रिय सम्मेलनको तयारीका लागि बसेको बैठकले महाधिवेशनमा पेश गर्ने तीन प्रतिवेदन पारित गरेको छ । ओलीले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन पास भएको छ । उनले नै विधान राष्ट्रिय महाधिवेशनमा सो प्रतिवेदन पेस गर्नेछन् । महासचिव ईश्वर पोखरेलले सङ्गठन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पार्टीका उपमहासचिव विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यही असोज १५ गते ११ बजे गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन हुनेछ । तीन दिन चल्ने महाधिवेशनमा झन्डै पाँच हजार सहभागी हुने अनुमान गरिएको छ । प्रतिनिधिको कुल सङ्ख्या आइनसकेको भए पनि पार्टीले बनाएको मापदण्डका आधारमा पाँच हजार देखिएको छ ।
प्रतिक्रिया