मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सबै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

सबै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब


ब्रसेल्स । युरोपेली संघले सबै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभर गर्न दबाब दिएको छ । संघको यस दबाबले विश्वभर धेरै प्रयोग भएको एप्पल फोनको उत्पादक कम्पनीलाई धक्का लाग्न सक्ने छ । 
 
युरोपेली आयोगले एकैप्रकारको चार्जर भएमा विद्युत खपत पनि कम हुने र चार्जर धेरै खेर जाने समस्या पनि कम हुने विश्वास लिएको छ । त्यसैगरी उपभोक्ताहरूलाई हरेक पटक नयाँ फोन किन्दा नयाँ चार्जर पनि किन्नुपर्ने बाध्यता हट्ने र विद्युतीय सामग्रीहरूको फोहोर कम हुने आयोगको निष्कर्ष छ । 
 
तर, एप्पल कम्पनीले भने आयोगको निर्णयले नयाँ आविस्कार गर्न र विविधतालाई निरुत्साहित गर्ने दाबी गरेको छ । आयोगको निर्देशनका कारण अब मोबाइल फोनको चार्जर उत्पादकहरुले एकै प्रकारको चार्जर बनाउनु पर्ने बाध्यता आइपर्ने भएको छ । 
 
युरोपेली आयोगले मोबाइल फोन, ट्याबलेट तथा हेडफोनहरूका निम्ति समान प्रकारको चार्जरसम्बन्धी कानुनको मस्यौदा तयार पारेर पेश गरेको अधिकारीहरूले जनाएका छन् । आयोगका कानुन निर्माताहरूले सबै उपकरणलाई उपयुक्त हुने उचित प्रकारको चार्जर बनाउने व्यवस्था गर्नुपर्ने माग झण्डै एक दशकदेखि उठाउँदै आएका थिए । 
 
एकै प्रकारको चार्जरको प्रयोगले वातावरण संरक्षणमा समेत ठूलो योगदान गर्न सक्ने उनीहरुको दाबी छ । फालिएका तथा प्रयोगमा नआएका चार्जरका तारहरूका कारण हरेक वर्ष ११ हजार टन फोहोर उत्पादन हुने गरेको युरोपेली आयोगको एक अध्ययनले देखाएको थियो । 
 
सोही अध्ययनका अनुसार गत वर्ष युरोपेली संघ मातहतका मुलुकहरुमा ४२ करोड मोबाइल फोन तथा अन्य हाते उपकरण बिक्री भएका थिए । औसतमा प्रत्येक व्यक्तिसँग तीनवटा फोन चार्जर रहने गरेको जसमध्ये २ वटा प्रयोगमा आउने गरेको पनि अध्ययनले देखाएको थियो । 
 
आयोगको प्रस्तावित कानुनमाथि सुरुमा युरोपेली संसद् र संघमा आबद्ध देशहरुले आन्तरिकरुपमा छलफल गरेर पारित गर्नुपर्ने भएकाले यो नियम लागू हुन तीन वर्षसम्म लाग्न सक्ने बताइएको छ । एएफपी