काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।
कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०८औँ जन्मजयन्तीका अवसरमा तत्कालीन सुन्दरीजल बन्दीगृहमा आयोजित विशेष कार्यक्रममा उनले बीपीको सपना पूरा गर्न महामन्त्री पदमा उम्मेद्वारी दिन लागेको बताए ।
“१५ वर्षभित्र सबै नेपालीलाई आफूजस्तै मध्यमस्तरको जीवनशैली यापन गर्न सक्ने हैसियतको बनाउने बीपीको दृष्टिकोण अझै पूरा हुन सकेको छैन, यो सपना पूरा गर्न मैले उमेदवारी दिने घोषणा गरेको हुँ”, उनले भने ।
विसं २०१६ जेठ १३ गते प्रधानमन्त्री नियुक्त भएपछि बीपीले १५ वर्षभित्रमा गर्छु भनेको काम राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाले ३० वर्षसम्म पनि गर्न नसकेको नेता शर्माले बताए । आफू महामन्त्री भएर पार्टीलाई तीनवटा निर्वाचन जिताई बीपीको सपना पूरा गर्ने उनको प्रतिबद्धता छ ।
पार्टीमा युवा पुस्ता ऊर्जाका साथ नेतृत्वमा अघि बढेकाले बीपीको सपना पूरा गर्न सकिने प्रवक्ता शर्माले बताए । बीपीले दुई तिहाइ सरकारको कमीकमजोरी लेख्न सञ्चारमाध्यमलाई निश्चित बजेट व्यवस्थापन गरेर पत्रकारिता क्षेत्रको सम्मान गरेको परम्परालाई कांग्रेसले निरन्तरता दिने उनको भनाइ छ ।
विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरी बिपी, गणेशमान, कृष्णप्रसाद भट्टराईलगायत नेतालाई लामो समय थुनेको तत्कालीन सुन्दरीजल बन्दीगृह हालको बीपी सङ्ग्रहालय पुगेर नेता शर्माले उमेदवारी घोषणा गरेका हुन् । उमेदवारी घोषणालगत्तै उनले बिपी, गणेशमान, किसुनजी, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, दिवानसिंह राईलगायत योद्धाको शालिकमा माल्यार्पण गरे ।
बन्दीगृहमा बिपीले रोपेको कपुरको रुखमा जल सिञ्चन गरी उनले सङ्ग्रहालय परिसरमा रुद्राक्षको बिरुवासमेत रोपेका छन् । कार्यक्रममा कांग्रेस काठमाडौँ क्षेत्र नं ३ का सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेललगायतले बिपीको सपना पूरा गर्ने नेतृत्वलाई १४औँ महाधिवेशनमा जिताउने प्रतिबद्धता जनाएका थिए । रासस
प्रतिक्रिया