साहित्य सिर्जना

आखिर दोषी को ? मा दोषी खोज्दा... (पुस्तक चर्चा)

प्रकाशित |
भर्खरै प्रा.डा.तीर्थप्रसाद मिश्रज्यूको प्रकाशित कृति “आखिर दोषी को ?” भन्ने पुस्तक पढ्दा दोषी खोज्ने इच्छा जाग्यो । सोही उद्देश्यबाट यो पुस्तक समीक्षा तयार पारिएको हो । डा.मिश्र नेपालको इतिहास लेखन विधामा एक स्थापित नाम हो । सन् १९५३ डिसेम्वर २७ मा धनकुटाको कचिडेमा जन्मनु भएका प्रा.डा.तीर्थप्रसाद मिश्रले सन् १९८७ मा विध्यावारिधि उपाधि हाँसिल गर्नु भएको हो । 
 
सन् १९७४ देखि सन् २०१५ सम्म ४१ वर्ष लामो समय त्रिभुवन विश्वविध्यालय सेवामा रही सेवानिवृत प्राध्यापक मिश्रले विभिन्न स्वदेशी तथा विदेश दर्जनौं सामाजिक संघ/संस्थाहरूमा अध्यक्ष, सदस्य,कार्यकारी सदस्य, सल्लाहकार, योजनाकार, अनुसन्धान विज्ञ लगायत थुप्रै तह तप्कामा रहेर सामाजिक कार्यहरू गर्नुभएका छन् । विभिन्न ऐतिहासिक, खोज शोधपूर्ण दस्ताबेजहरू तथा अनुसन्धानका पुस्तकहरू प्रकाशन गरी सक्नु भएका मिश्रको भर्खरै प्रकाशित पुस्तक “आखिर दोषी को ?” अठ्ठारौं पुस्तक हो । उहाँको सयौंको संख्यामा स्वदेशी तथा विदेशी जर्नलहरूमा लेख प्रकाशित छन् । 
 
इतिहासका सिद्धहस्त विद्वान प्राध्यापकज्यूको यो पुस्तक इतिहासको कालखण्डका विविध पक्षहरूको प्रमाण दिँदै बर्तमान राजनीतिक, सामाजिक, आर्थिक विषय र विसंगतिको चीरफार गरेको निवन्धनात्मक आलेखहरूको संगालो पुस्तक “आखिर दोषी को ?” एउटा समयको दस्ताबेज हो । इतिहास र अनुसन्धानमा खोज र अनुसन्धान गर्न चाहानेहरूको लागि अति उपयोगी हुने यो पुस्तक सरसर्ती पढिसकेपछि केही लेख्ने हुटहुटी जाग्रित भयो ।  
 
प्रा.डा.तीर्थप्रसाद मिश्रज्यूको पछिल्लो पुस्तक “आखिर दोषी को ?”(कोरोनाकालको बसिबियाँलो) २०७६ सालको अन्त्य तिर सुरु भएको कोरोनाको बन्दाबन्दीको समयलाई सदुपयोग गर्नु भई लेख्नु भएका ऐतिहासिक प्रमाणहरु सहितको निबन्धनात्मक लेखहरुको संगालो माथि केही चर्चा गरिरहँदा नठान्नु होला कि पुस्तकको समीक्षा गरेको भनेर । किन कि उहाँको लेखनको र पुस्तकको समीक्षा गर्न सक्ने ल्याकत त म सँग छैन तथापी पुस्तक सरसर्ती पढिसकेपछि मनमा लागेको केही कुरा लेख्ने दुत्साहस गरेँ । 
 
उहाँको यो पुस्तक सरसर्ती हेर्दा कुनै लेखहरुको संगालो जस्तो लागेता पनि समयको दस्ताबेज भन्दा फरक पर्दैन । समय त परिवर्तनशिल छ, निरन्तर बगिरहने खोला जस्तै । समयको अन्तरालमा हामीले प्राप्त गरेको उपलब्धीहरु र बर्तमानको राष्ट्रिय राजनीति र त्यसले पारेको प्रभावले समाज हिजोको भन्दा आज के कति प्रगतिशील या उधोगतिशील भन्ने कुरा चाल पाउन वितेको समयमा भए गरेका ऐतिहासिक कुराहरुको समिक्षा गर्न जरुरी हुन्छ । 
 
त्यसैले यो पुस्तक विगत र वर्तमान बिचको अन्तरक्रियात्मक कडीको रुपमा लिन सकिन्छ । यस पुस्तकको लेखहरु इतिहास सँग समायोजन गरी तयार गरिएकोले अझ ज्ञानवर्धक हुन पुगेको छ । 
 
शासकवर्गको स्तुतिगानः एक दीर्घ रोग
 
–जे होस् हाम्रा शासकहरुले इतिहासलाई सम्मान गरेका छन् । अन्यत्र नभए पनि भाट प्रवृत्तिलाई प्रोत्सान र परम्परालाई राम्रैसित धानेका छन् :
 
नेपालको शासकीय इतिहासको हवला दिँदै लेख्नु भएको यो लेखमा वर्तमानका शासक वर्गले अरु क्षेत्रमा अपवाद बाहेक शक्तिको बखान, गुणानुवर्णन, प्रशंसाको भोगी, चाकरी रुचाउने कुरालाई निरन्तरता दिएकोमा ब्यंग्यात्मक शैलीमा “इतिहासलाई सम्मान गरेका छन्” भन्ने लेखकको विचार मननीय लाग्यो । लिच्छविकालमा होस् या मल्ल कालमा होस् , गोपाल बंशमा होस् या शाह बंशमा होस् अथवा राणा शासनमा होस् या शाह कालिन देखि बर्तमान लोकतान्त्रीक गणतन्त्र सम्म आइपुग्दा पनि शासक वर्गमा आफ्नो चाकडी गरोस्, विरोध नगरोस् भन्ने चाह सबैमा देखिन्छ । 
 
अनेक उपमाले जडित मल्ल राजाहरुको शासन कालमा सतिप्रथा, बहुविवाह, दासप्रथा जस्ता कलंकित प्रथाहरु र जनतालाई लगाइएका स–साना कृषि उपचमा लगाइएका करहरुले पनि बास्तविकता फरक थिए भन्ने बुझिन्छ । इतिहासमा जयस्थिति मल्ल सुधारवादी राजा भनेर चिनिएता पनि उनैले ठूला र साना जात भनि विभाजन गरिदिए । 
 
राणाहरुले आफ्नो स्तुतिगान गाउनकै लागि थुप्रै भाट वा गाइनेहरु नियुक्ति गरेबाट थाहा हुन्छ कि शासक वर्ग खराब आचरणलाई ढाकछोप गर्न सुका मोहोरमा आफ्नो गुणगान गाउने आउरेपाउरे राख्छन् भनेर । आजको शासकवर्ग पनि यो रोगले उस्तै ग्रस्त छन् भन्ने बुझिन्छ । शासक होस् या प्रशासक अथवा समाजका अन्य क्षेत्रमा पनि यस्तो दीर्घ रोगबाट समाजले मुक्ति पाउनु पर्ने लेखकीय मान्यता हो ।
 
पूर्ववर्तीहरुप्रति दोषारोपण गर्ने प्रवृत्ति
 
जुनसुकै ब्यवस्था परिवर्तन पछि जुनसुकै तह र तप्काले पूर्ववर्तीप्रति गरेको निन्दा र दोषारोपण गर्नु परम्परा धान्न गरेको प्रवृति जस्तै लाग्छ । प्रा.डाक्टर सापले विभिन्न कालखण्डामा भए गरेको दोषारोपणको उदाहरण दिएर लेख्नु भएको यो लेखले के पुस्टी गर्दछ भने आफ्नो प्रभुत्व जमाउने एक मात्र सुत्र अरुको र पूर्ववर्तीको आलोचना गर्न सके मात्रै आपूm सफल भइन्छ भन्ने मनोदशाको निरन्तर्ता भएको भन्ने बुझिन्छ । साथै जव सम्म अग्रजले गरेको राम्रो कामको उचित स्थान, मूल्याङ्क र समिक्षा गर्ने र नराम्रो कामहरुको निन्दा गर्न छोड्न सक्दैन भन्ने कुराको बोध हुन्छ ।
 
नेपालको राजनीतिमा महिला महत्त्वाकांक्षाको रोगः
 
पुस्तकको अर्को महत्वपूर्ण लेख हो “नेपालको राजनीतिमा महिला महत्वकांक्षको रोग” । जुन नेपालको राजनीतिमा हरेक कालखण्डमा पाइन्छ । इतिहासको कालखण्डमा महिला महत्वकांक्षले घटाएका घटनाहरुको विवरण दिएर लेख्नु भएका लेखमा इतिहास देखि वर्तमान सम्मका राजा महाराजाहरु, प्रधानमन्त्री, मन्त्रीहरु, शासक वर्ग कोही पनि अछुतो नरहेको तथा त्यसैको प्ररिणाम राजा वीरेन्द्रको वंकनाश भएको सम्म विश्लेसन पाइन्छ । राजनीतिमा होस् या प्रशासनमा यस्तो महत्वकांक्षीको ब्यवस्थापन गर्न नसक्दा सम्पूर्ण क्षेत्रमा असर पर्न सक्ने हुँदा यसबाट मुक्त हुनु पर्ने दृष्टिकोण लेखमा पाइन्छ ।
 
नेपालको रोगः पूर्वको ब्यवस्थापनमा सकसः
 
बुढा गोरुले गाई ओगडेको नेपाली उखान सायद त्यसै बनेको होइन होला । एक पटक कुर्सीमा पुगेपछि लिसो टाँसे भैंm कुर्सीमै टाँसिइरहने रोग राजनीतिक दल र सरकारमा पुगेकाहरुमा मात्रै लागु हुन्छ भन्ने छैन । सामान्य भन्दा सामान्य एउटा संस्थाहरुमा पनि यो रोग विध्यमान छन् । जतिसुकै राम्रो नीति भएता पनि आपूm ओहोदामा पुगेपछि बारबार आपैm त्यो ओहोदामा दोहोरिएर बस्न अनुकुल वातावरण निर्माण गर्न थाल्छन् । यस्तो हुनुमा नीतिगत ब्यवस्थापनको कमीका कारण हो । प्राध्यापक मिश्रले लेख्नु भए भैंm पूूर्वलाई उचित ब्यवस्थापन र उचित मूल्याङ्कन गरी सम्मानपूर्वक स्थान दिन सक्ने हो भने यो रोग निको हुन सक्थ्यो कि ?
 
नेपाली कूटनीतिः काँक्रोलाई थाँक्रो हाल्दा थाँक्रै धनी 
 
अर्कालाई इज्जत दिन खोज्दा आफ्नो बैइज्जत हुने कुराको हेक्का नहुनुको विडम्बना हो हाम्रो विगतका कूटनीतिक सम्बन्धहरु । अरुलाई खुशि पार्ने क्रममा आपूm नाङ्गिएको पत्तै पाइएनन् हाम्रा तत्कालीन शासकहरुले । त्यसैको परिणाम १९५० देखिका र त्यो भन्दा पनि अघिका सन्धिहरुले लाभको त के कुरा दीर्घकालीन समस्यामा हामी परिरहेका छौं । शासकहरुको स्वार्थ प्रेरित नीतिका कारण देशले कम लाभ र बढी हानी हुन पुगेको छ भन्नु हुँदै लेखक लेख्नु हुन्छ ः “काँक्रोलाई थाँक्रो हाल्दा थाँक्रो नै धनी” ।
 
राष्ट्रप्रमुख कमजोर हुँदा मुलुकले खेप्नु परेको सास्तीः ऐतिहासिक सर्भेक्षण
 
जुनसुकै तह र तप्कामा लागु हुने विषय हो यो । जिम्मेवार ब्यक्ति गैर जिम्मेवार र कमजोर हुन पुगेपछि घर होस् या संघ/संगठन होस् सबै कमजोर हुन पुग्छन् । कुनै पनि राष्ट्र सक्षम र शक्तिशाली हुनुमा त्यो राष्ट्रको राष्ट्र प्रमुख कति शक्तिशाली, कति कुशल नेतृत्वदायी र कतिको कूटनीतिक क्षमताको छ भन्ने कुरामा निर्भर हुन्छ । 
 
यस लेख पढिरहँदा लेखकज्यूले दिनुभएका ऐतिहाँसिक प्रमाणहरुले के देखाउछ भने हाम्रा मुलुकले कहिल्यै अपेक्षित प्रगती गर्न नसक्नुको प्रमुख कारण नेत्रृत्वमा पुगेकाहरुमा दीर्घकालिन कूटनीति, कुशल राजनीति र भिजन भएका अपवाद बाहेक कोही जन्मेनन् र जो जो ओहोदामा पुगे उनीहरुले राष्ट्र, राष्ट्रियताको लागि भन्दा आफ्नै गूटगत राजनीतिमा समय ब्यतित गरे भने त्यसको फाइदा अन्तराष्ट्रिय जगतले लिन पुगे । जो राष्ट्र र राष्ट्रियताको लागि केही गर्छु भनेर आए ऊ गर्न पाउने ठाउँमै पुग्न दिएनन् या मारिए । त्यसैले त प्राध्यापक मिश्र लेख्नु हुन्छ : 
 
कहिलेसम्म नेपाली जनताले बलिदान गरिरहनु पर्ने हो र सो बलिदानको बेदीबाट उठेर गएका नेतृत्व वर्गले शासन शक्तिलाई आफ्नो महत्वाकाङ्क्षा र अभीष्ट पूरा गर्ने कार्यमा प्रयोग गर्न छाडेर आमजनताको हित र स्वार्थमा केन्द्रित गर्ने हुन् ?”
 
राजनेताको राजधानी मोह
 
ऐतिहासिक कालखण्ड देखि नै दुर्गमबाट सुगममा बसाई सर्ने वा सुगममा बस्ने मोह रहँदै आएको सर्वविदितै छ । एउटा राज्यका राजाले अर्को राज्यमा आक्रमण गरी त्यो राज्यको राजा हुने आकांक्षा राखेको पनि अर्को राज्यको वैभवलाई नै देखेर हो । स्वभावैले मान्छे सबै सेवाको उपयोग गर्न पाउने ठाउँ रोज्छ । तर जनतालाई भोट बैंकको रुपमा मात्रै प्रयोग गरी अनेक प्रलोभनमा पारी भोट आफ्नो पक्षमा पार्ने र जितेर काठमाडौं पस्ने नेताहरु गाउँ फर्केर नजाने, आपूmलाई भोट दिने जनता र जितेको ठाउँमा पाइलै नटेक्ने परिपाटी सायत नेपालमा मात्रै होला । 
 
चप्पल र एक सरो लुगाको भरमा सिंहदरवार छिरेका नेतागणको राजधानीमा महल बन्दै गर्दा जनता सिटामोल नपाएर छटपटीनु पर्ने बाध्यतामा रहेका नेपालीहरु अझै आशावादी छन् ः समृद्धि हाम्रै पालामा आउनेमा । यसैको चिरफार यो आलेख हालको वास्तविक जनताको कथा ब्यथा हो जस्तो लाग्छ ।
 
नेपालको रोग माल पाएर चाल नपाउनु
 
कसैले सुनमाथि सुतेर माटो खाने जाती नेपाली हो भन्छन् भने अचम्म नमाने हुन्छ । कुनै बेला लक्ष्मीप्रसाद देवकोटाले लेलेका थिए “के नेपाल सानो छ ?” विनाको सुगन्धको भ्याउ नपाउने कस्तुरी नै हो । हामीले हाम्रो कला, संस्कृति, हावा, माटो र संस्कार चिनेनौं या चिन्न चाहेनौं । हामी आयतित वस्तुमा विश्वास गर्ने भयौं र त हामी अरुको खेलौना बन्न पुग्यौं । हाम्रो प्राकृतिक स्रोत, खनिज, जडिबुडी, पुरातात्विक वस्तुहरुबाट अन्य विकसित मुलुकहरुले कसरी फाइदा लुटिरहेका छन् हामी भ्याउ पाइदैनौं । अझ यो देशमा जन्मेको धिक्कार छौं । यो हिन्ताबोधबाट माथि उठन सक्दैनौं तव सम्म हामी नेपाली अरु देशको खेताला भन्दा माथि उठन सक्दैनौं । हाम्रा सामरिक महत्वको चीजहरु विश्वका अन्य देशहरुको म्यूजियमहरुमा पाउनु, हाम्रो धार्मिक महत्वका पुराताविक विषयहरु हराउनु, अरु देशको धर्म अंकिगार गर्नु, बैदेशिक ऋणमा देशको बजेट चल्नु, रेमिट्यान्सले देशको अर्थतन्त्र धान्नु जस्ता परनिर्भताको जस्ता मानसिकतामा परिवर्तन नहुँदा सम्म देशको प्रगती नहुने पक्का छ भन्ने कुरा उजागर गर्नुभएको छ लेखकले ।
 
अति महत्वाकांक्षाको रोगः विनासको बाटो 
 
स्वस्थ महत्वकांक्षाले परिवार, समाज र देशलाई सही दीशा दिन्छ । अग्रगामी र सवृद्धिको यात्रामा डो¥याउने भनेकै शासकमा भएका स्वस्थ महत्वाकांक्षाले हो । तर जब शासकमा अस्वस्थ महत्वाकांक्षा बढ्न थाल्छ देशले अधोगतिको यात्रा तय गर्छ । जनताले शास्ती भोग्न बाध्य हुन्छ भने गरिबीको चपेटामा पिल्सिनु बाहेक अरु केही प्राप्ती हुँदैन । प्रा.मिश्रज्यूको इतिहासको कालखण्ड देखि वर्तमान सम्म देश र जनताले भोग्दै आएको र भोग्न परिरहेको समस्याहरु शासक वर्गको अस्वस्थ महत्वाकांक्षाको परिणामले निम्त्याएको दूषप्रभावहरुको चिरफार गर्ने लेख हो “अति महत्वाकांक्षाको रोगः विनासको बाटो ।” 
 
रविश्वको तानाशाहहरुको उदय र पतन, नेपालकै ऐतिहासिक कालखण्ड देखि वर्तमान सम्मका महत्वाकांक्षी शासकहरुको उदय र अन्त्यको उदाहरणहरु दिनुहुँदै लेख्नु भएका यो लेखले राजनीतिमा अदूर्दर्शीता, पक्षपोषण नीति, पदमा पुगेपछि आपैm सर्वेसर्वा, अरु जनता किराफट्याङ्ग्रा ठानी मैंमत्ता बन्ने महत्वाकांक्षाका कारण समयको अन्तरालमा त्यस्ता शासकहरुको दुखत अन्त्य भएका थुप्रै उदाहरणहरु दिनु भई समयमै सम्बन्धित पक्ष सुध्रिनु पर्ने विचार दिनु भएको छ ।
 
हामीमा लघुताभास किन ? शिर्षक अघिसार्दै हाम्रो लघुताभास मनोवैज्ञानिकताको विबेचना गर्नु भएको छ । आफ्नो बारीमा भएको हीरा ढुंगा सम्झिने तर पत्थरको खोजिमा भौतारिएर मर्ने हाम्रा समाज प्रत्येक पाइलामा हिनता बोध गर्दै बाँचिरहेका छन् । भूजा खानेको अगाडि भात खानेले हिनताबोध गरेका छन् , कुलो माथि बस्नेको अगाडि कुलो मुनिकाले लघुताभास गरेका छन् , कोर्टटाई लाउनेका अगाडि दौरासुरुवालले हिनताबोध गरेका छन्, यस्तै अनेक विषय छन् समाजमा लघुताभासमा रहनेको । 
 
तर, जवसम्म आफ्नो मौलिक सँस्कृति, संस्कार, भाषा–भेषभूषा, राष्ट्रियता प्रति र आपैm प्रति गर्व गर्न सक्दैन, तव सम्म हामी लघुताभासबाट मुक्ति पाउन सक्दैनौं । चाइनाको राष्ट्रपति, जापानको प्रधानमन्त्री अरु थुप्रै नरेशहरुले अंग्रेजी बोल्न नसकेर दोभासे राखेर भाषण गरेका होलान् र ? विश्वका शक्ति सम्पन्न राष्ट्रहरुले आफ्नो भाषा, कला, सँस्कृतिलाई पहिचानको रुपमा गर्वका साथ लिएर अघि बढेकैले आज त्यो देश शक्तिशाली र संवृद्धि भएका छन् भन्ने लेखकको आशयप्रति पूर्ण सहमत छु ।
 
आखिर दोषी को ?
 
पुस्तकको नाम जुराउनु भएका यो लेख अनुसन्धनात्मक छ । “ आखिर दोषी को ?” पढ्दै गर्दा आखिर हामी जनता हौं कि राजनीतिक दलको भोट बैंक मात्रै हौं भन्ने अहम प्रश्न दिमागमा चल्न थाल्छ । राजनीतिक दलहरु सत्तामा पुगेपछि तिनीहरुले मन्चन गरेको नाटक, अनेक काण्डै काण्ड देखाउने निर्लज्जत लाजनीतिको असरले जनताले भोग्नु परेको शास्तीबारे अनुसन्धनात्मक यो लेखले जनता कहिल्यै जनता हुन सकिनन् वा जनता हुनै दिएनन् र प्रत्येक जनता एक न एक राजनीतिक दलको झोले कार्यकर्ता र आफ्नै स्वार्थपूतिका लागि नेताको अन्धभक्त भए । बारमबार राजनीतिक पार्टीहरुबाट धोका पाइरहँदा पनि चेत नखुलेकोमा शासक वर्ग मात्रै दोषी छैन त्यस्ता शासकलाई मलजल गर्ने हामी जनता पनि उत्तिकै दोषी छन् भन्ने सन्देश हो यो लेख ।
 
सतीको श्रापः योग्यको कदर नहुने रोग
 
विश्वको राजनीतिमा के भए त्यता नजाऊँ । तर हाम्रो समाज नेपाल जस्तो अल्पविकसित राष्ट्रहरु बसोबास गर्ने मानिसको मानसिकता नै अरुको ईष्र्या गर्ने, अरुको खुट्टा तान्ने प्रवृति इतिहास देखि चलिआएको दीर्घ रोग हो । अरुको अस्तित्व स्वीकार्न नसक्ने, स्वीकारिहाले भने आफ्नो अस्तित्व मेटिन सक्ने लघुताभासबाट ग्रसित छन् हाम्रो समाज । भीम मल्लको उदाहरण होस् या कालु पाण्डेको, माथवरसिंह थापाको होस् या कृष्णप्रसाद भट्टराईको अथवा मनमोहन अधिकारीकै किन नहोस् सबैले राम्रो गर्न खोज्दा खोज्दै पनि आफ्नैहरुले गर्न दिएनन् भने थालनी गरेको राम्रा कामहरुको पनि कदर भएनन् । सतीले श्रापेको देशमा यस्ताको पराजय भएका छन् भने भ्रष्टाचारी, ज्यानमारा, अत्याचारीहरुकै जय र विजय भएका उदाहरणहरु प्रसस्त छन् । त्यसैले त लेखक लेख्नुहुन्छ ः “साधुलाई शुली, चोरलाई चौतारो हुनुका कारण साच्चीकै सतीले श्रापेरै पो हा कि ?”
 
हामी समयको कति सदुपयोग गर्छौं ?
 
आपूm समयमा नचल्ने तर नेपाली समय त हो नी, भनी देशकै बैज्जत गर्ने नेपाली परिपाटी र जत्ति ढिलो गरी कार्यक्रम स्थल पुग्यो उत्ति आफ्नो इज्जतमा उचाई थप्ने मपाईत्व रुपी बरिष्ठहरुको कारण कामकाजीहरुले शास्ती ब्यहोर्नु परिरहेको र सेवाग्राहीहरु मारमा परेको सन्दर्भ दिनुहुँदै लेखकज्यूको सुझाबहरु पलना गर्न सके एक घण्टाको कार्यक्रमलाई दिनभरीको समय खेरा फाल्नु पर्दैन थियो कि ?
 
जंगबहादुरको प्रतीक्षा
 
शत्ता र शक्तिमा पुगेपछि कुनै पनि शासकमा शक्तिको मात लागेको प्रसस्तै उदाहरण पाइन्छ । कुरा यति मात्रै हो कि कति लामो टिक्ने भन्ने । शक्तिमा टिकिरहन कतै न कतैबाट संरक्षित हुनु पर्छ । चाहे त्यो हिजो होस् या आज होस् । हिजो राजा महाराजाहरुको चाकडीबाट आफ्न पद र शक्ति जोगारहन्थ्यो भने आज छिमेकी मुलुकहरुको चाकडीले शक्ति टिकाईरहेका छन् । अर्को कुरा प्रतिपक्ष वा विपक्षले विरोध गर्ने र सरकार ढाल्ने त चलिआएकै रितभित्र पर्छन् । तर आफ्नै दल भित्रैबाट आफ्नै दलको सरकार ढाल्ने नीति नेपालको राजनीतिमा हाल मौलाएको राजनीतिक ठूलो रोग हो । यसैको परिणाम स्वरुप नेपालको आन्तरिक मामिला अत्यन्तै कम्जोर हुँदै गएको र राष्ट्रियता भन्दा आफ्नो कुर्सी जोगाई रहने खेलमा शक्तिकेन्द्रहरुमा धाउने र हारगुहार माग्ने प्रवृद्धिले यो देश विदेशीको रंगशाला भन्दा अत्युक्ती नहोला । 
 
नेपालीले कहिलेसम्म रमिता हेर्ने ?
 
नेपाली राजनीतिमा देखा परेको र जनताले ब्यहोर्दै आएको शास्तीहरुबारे विश्लेषण गरेको “नेपालीले कहिलेसम्म रमिता हेर्ने ?” लेखमा जुनसुकै शासन ब्यवस्था आए पनि जो सत्तामा पुगे पनि हामी जनता दर्शक मात्र भयौं र उनीहरु हामीलाई नाटक देखाउने चटकी मात्रै भएकोले यो रमिता नेपालीले कहिले सम्म हेरिरहनु पर्ने हो भन्ने चिन्तन यो लेखमा पाइन्छ । नेपाली जनताले ब्यहोर्नु परिहहेका सास्तीहरु बढो मिहिन तरिकाले उखानटुक्का मार्फत विश्लेषण गर्नुभएका लेखकको लेखन निपुन्तालाई सलाम । 
 
राजनीति र नेताः नेपालको सन्दर्भ
 
प्रधानपञ्चलाई उपर प्रधानपञ्चले चटकन हानेको सन्दर्भ र पढाईमा अब्बल वाला इन्जिनियरलाई सानो कक्षाहरुमा सँगै पढ्ने बज्रसाँठ साथी मन्त्री भै आपूmलाई सम्मान गर्न आउँदाको सन्दर्भले नेपालको शासन ब्यवस्थाको खिल्ली उडाएको विश्लेषण पाइन्छ । नीति, नियम, सिद्धान्त र विधान लागु नहुने र नैतिक नीतिले नछुने क्षेत्र भनेकै राजनीति भएकोले यस्ता साँठहरु जन्मन्छन् र अवसरवादी, पक्षपोषक र आपूm सधैं शक्तिमा टिकिरहने प्रवृतिले देशलाई दूर्गामी असर पारिरहेका छन् भन्दै लेख्नुहुन्छ ः “ जति नै आन्दोलन गरे पनि जनताहरु त काँचाको काँचै । कहिल्यै पाक्ने भएनन् । पाक्न त आर्यघाट नै पुग्नु पर्ने हो कि ?” 
 
अति पो भयो कि ?
 
हरेक कुरामा लागु हुन्छ , अति भएपछि खति भन्ने नेपाली उखान । कोरोनाकालीन राजनीति, यसको असर, लकडाउनले गर्दा अर्थतन्त्रमा पारेको प्रभाव, कोरोनाको निहुमा जनतालाई घरभित्रै थुन्ने तर कुनै राहतको कार्यक्रम नल्याउने, सिमित ब्यक्ति र समूह रातरात मालामाल हुने, कमाउ धन्दामा माफियाहरुको बोल वाला रहने तर जनता मरेका मरेकै हुने स्वास्थ्य जस्तो नागरिकको नैसर्गिक र सम्बेदनशिल अधिकारमाथि राजनीति हावि भएकोमा जनतालाई नर्क र पहुँचवालालाई स्वर्ग कहिले सम्म रहने हो भन्ने विषयको भण्डाफोर गरेको लेख हो यो ।
 
आत्मकथा प्रकाशनको रोग
 
विश्वका महान वैज्ञानिक, दार्शनिक तथा लेखकहरुको जीवनी पढ्दा धेरै ज्ञान हासिल गर्न सकिन्छ । तर महान ब्यक्तिहरुले आफ्नो आत्मकथा लेखेको विरलै पाइन्छ । उनीहरु खुल्ला किताब जस्तै हुन् । उनीहरुको जीवनी धेरैले लेखेको पाइन्छ । उनीहरुको काम र योगदानले नै दुनियामा परिचित हुन्छन् । तर जो ब्यक्तिले खासै योगदानपूर्ण काम गरेर भन्दा आफ्नो प्रचार गरेर दुनियालाई आपूm चिनाउन खोज्छन् त्यस्ता ब्यक्तिहरुले सत्य भन्दा पनि बढी बढाई चढाई आफ्नो आत्मकथा लेखिरहेको पाइन्छ ।
 
प्राध्यापक मिश्रले आफ्नो लेखमा विभिन्न ब्यक्तित्वहरुको आत्मकथाको वृतान्त दिनु भई लेख्नु भएको यो लेखको तात्पर्या पनि आत्मकथा प्रकाशन आफ्नो प्रचार गर्ने सामाजिक रोगले ग्रस्त भै प्रकाशन गर्ने विवरण नहोस् भन्नु हुन्छ । यस्तै लेखकज्यूले नेपालको सामाजिक संघ/संस्थाहरुमा रहेका संस्थागत बेथिति, विसंगति तथा बढ्दो राजनीति करणले यस्ता सामाजिक संघ÷संस्था र संगठनहरुले अपेक्षाकृत कार्य गर्न नसकेको र ब्यक्तिवादी नीति, अदूर्दशी एवं संस्थाको हितविपरित र नीति सधैं पदमा रहिरहन खोज्ने आदि इत्यादि कारणहरुबाट यस्ता संस्थाहरु बेला बखत विवादको घेरामा पर्ने गरेको उदाहरण दिनुहुँदै नियमन निकायले गर्नुपर्ने अनुगमन, निगरानी समयमा गर्न नसक्दा यस्ता बेथितिहरु ब्ढिरहेको विचार प्रस्तुत गर्नु भएका छन् : नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति विघटन र गैरसरकारी संस्थाहरुको भविष्य भन्ने लेखमा ।
 
यस्तै ऐतिहासिक “उपन्यास महारानीः इतिहासको खानी” नेपालको इतिहास अध्ययन गर्न चाहानेहरुको लागि ऐतिहासिक दस्ताबेज नै हो भन्ने तर्क अघि सार्दै उपन्यासको समीक्षा गर्नुहुँदै साहित्य र इतिहास एकको अर्को परिपूरक रहेकोले पक्कै पनि नेपाली साहित्यमा एउटा नयाँ स्वाद पस्केमा उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँ धन्यवादको पात्र रहेको चर्चा गर्नु भएको छ । यो उपन्यासले इतिहासका कालखण्डको घटना, विकास, प्रविधि र जीवन शैलीको राम्रो विश्लेशन गरिएकाले सबैले एक पटक पढ्नु पर्ने सृजना बन्न पुगेको छ भन्ने तर्क अघि सार्नु भएको छ प्रा.डा.मिश्रले । 
 
त्यस्तै आत्मकथा वा आत्मवृतान्तबारे प्रकाश पार्नुहुँदै “विश्वम्भर प्याकुरेलको आत्मवृतान्तः केही छोपिएका, केही उघारिएका” पुस्तक माथि प्रकाश पार्दै लेख्नु भएको लेखले पनि नेपाली साहित्यमा आत्मवृतान्त लेखन स्वागतयोग्य रहेको तर केही लेखकहरु आफ्नै प्रचारबाजीको लागि मात्रै आत्मकथा वा आत्मवृतान्त लेख्ने हो भने केही छोपिनु पर्ने उदांगिएको र केही उदांगिनु पर्ने छोपिन जाने पनि हुन सक्ने यथार्तलाई बढो वौद्धिक ढंगले उल्लेख गर्नु भएको छ ।
 
अन्त्यमा,
 
यसरी यो पुस्तकको चर्चा गरिरहँदा कुनै लेखमा सन्दर्भ सामाग्री उल्लेख हुनु, कुनैमा नहुनु, कतिपय विषय वस्तुलाई सूत्रमा मात्र उल्लेख गर्नु, हिजोले आज देखाएको र आजले भोली कस्तो देखाउँछ भन्ने चर्चा नहुनु जस्ता केही कमजोरी कृतिमा भेटिन्छन् तथापी प्राध्यापक डा.मिश्रले आफ्नो २१ वटा निबन्धनात्मक लेखहरु नवीनखोज तथा ऐतिहासिक तथ्यलाई आधार बनाई ऐतिहासिक घटना र स्रोतको प्रयोग गर्नुभएकाले यो पुस्तक सबै जिज्ञासु पाठकका लागि पठनीय एवम् संग्रहणीय सामग्री बन्न पुगेको छ । 
 
इतिहास विध, राजनीतिक विश्लेसक, अनुसन्धान विज्ञ तथा वहुआयमिक लेखकीय ब्यक्तित्व बौद्धिक लेखन शिल्पी भएका डा.मिश्रको पुस्तकका प्रत्येक विषय ऐतिहासिक तथ्य प्रमाण तथा वस्तुनिष्ठ घटनामा आधारित छन् । जिज्ञासु र बौद्धिक पाठकलाई पुस्तकले ऐतिहासिक घटनाका माध्यमबाट बौद्धिक खुराक उपलब्ध गराउने पक्का छ । अन्त्यमा यति सुन्दर ग्रन्थ जिज्ञासु पाठकलाई उपहार दिनुभएकोमा लेखकलाई हार्दिक धन्यवाद तथा बधाई दिन चाहान्छु ।
 
लेखकः प्रा.डा.तीर्थप्रसाद मिश्र,
पुस्तकको नामः आखिर दोषीको ?
प्रकाशकः निकिता मिश्र पाण्डेय     
(मेडिसन बिसकिन्सन,अमेरिका)
प्रकाशन वर्षः विसं २०७८,
मूल्यः रु ३५०।–
वितरकः पशुपति पुस्तक भण्डार, पुरानो बानेश्वर ।
 
(तामाङ्ग कवि तथा गीतकार हुनुहुन्छ ।)
 

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया