नेपाल

साठी लाख जरिवाना ठहर भएका फरार व्यक्ति पक्राउ

साठी लाख जरिवाना ठहर भएका फरार व्यक्ति पक्राउ


काठमाडौँ । नेपाल प्रहरीले रु ६० लाख जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । 
 
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैङ्किङ कसूर मुद्दामा उच्च अदालत पाटनले रु ६० लाख जरिवाना गरेपछि फरार रहेका इलाम विर्तामोडका ४३ वर्षीय टङ्कनाथ कट्टेललाई पक्राउ गरेको हो । 
 
ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ ४ गतेको फैसलापछि सात दिन कैद र बिगो बमोजिम रु ६० लाख जरिवनापछि फरार रहेका कट्टेललाई बिहिबार झापाको विर्तामोडबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । 
 
पक्राउ परेका उनले आफ्नो सिभिल बैँकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । 
 
उच्च अदालतले उनलाई बैंकिङ कसूर तथा सजाया ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले जानकारी दिए ।