मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

वासुदेव विद्यादेव लुइँटेल गुठीद्वारा शाह र केसी पुरस्कृत

वासुदेव विद्यादेव लुइँटेल गुठीद्वारा शाह र केसी पुरस्कृत


काठमाडौँ । नेपाली हास्यव्यङ्ग्य क्षेत्रका विशिष्ट प्रतिभा वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कारहरू एक संक्षिप्त कार्यक्रमबीच शुक्रबार राजधानी काठमाडौँमा वितरण गरिएको छ । 
 
जसमा २०७६ सालको हास्यव्यङ्ग्य चित्रतर्फको पुरस्कार वरिष्ठ कलाकार शशि शाहलाई प्रदान गरिएको छ । २०७७ सालको हास्यव्यङ्ग्य अभिनयतर्फको पुरस्कार भने किरण केसी (रातामकै) ले पाएका छन् । 
 
प्रत्येक पुरस्कारको राशी एक लाख एघार हजार एक सय एघार रुपैयाँ रहेको छ । वरिष्ठ साहित्यकार रोचक घिमिरेले वासुदेव विद्यादेव लुइँटेल गुठीका पदाधिकारीहरूको उपस्थितिमा शाह र केसीलाई पुरस्कार प्रदान गरेका हुन् । 
 
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले पुरस्कृत वरिष्ठ कलाकार शशि शाहको नेपाली आधुनिक कलासँगसँगै हास्यव्यङ्ग्य चित्रकलामा पनि विशिष्ट योगदान रहेको बताए । पुरस्कृत अर्का स्रष्टा किरण केसीको हास्यव्यङ्ग्य अभिनय जीवन्त रहेको उनले बताए । 
 
यसैबीच, पुरस्कृत स्रष्टा केसीले पुरस्कारस्वरुप आफूले पाएको रकममध्ये ९० प्रतिशत समाजसेवामा खर्चने जानकारी दिए । सोही अवसरमा गुठीका अध्यक्षसमेत रहेकी स्व. लुइँटेलकी पुत्री डा. सुष्मा आचार्यका कृति ‘कस्ले सुन्छ मेरो आवाज’ (उपन्यास) र सोहीको कृतिको अङ्ग्रेजी अनुवाद ‘हु विल हियर माई भ्वाइस’ को वरिष्ठ साहित्यकार घिमिरे र पुरस्कृत स्रष्टाद्वयले विमोचन गरे । 
 
गुठीका सचिव प्रा.डा. विद्यादेव शर्माले शाह र केसीजस्ता उच्च कोटीका प्रतिभाहरूलाई पुरस्कृत गर्न पाउँदा गुठी गौरवान्वित भएको बताए । कोरोना महामारीका कारण समयमा दिन नसकिएका यी दुई पुरस्कार शुक्रबार प्रदान गरिएको हो ।