मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी)को सनाखत

माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी)को सनाखत


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का ५५ केन्द्रीय सदस्य र २९ सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गरेका छन् ।  
 
सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा आयोगले उक्त दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।
 
उक्त दलका नेता राजेन्द्रप्रसाद पाण्डेले दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेस गरेकामा दुईजना मात्र सनाखतमा सामेल हुन नसकेको जानकारी दिए । केन्द्रीय सदस्य भास्कर काफ्ले र रवीन कोइराला सो सनाखतमा उपस्थित भएनन् । पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरेका छन् । 
 
सङ्घीय संसद्का २९ जना सांसदले पनि उक्त दलको पक्षमा सनाखत गरेका छन् । अरू दुई जनाको प्राविधिक समस्याका कारण सनाखत हुन बाँकी रहेको नेता पाण्डेले जानकारी दिए । 
 
आयोगमा उपस्थित भएर पनि सनाखत गर्न नपाएका केही सांसदका लागि विद्यमान अध्यादेश र ऐनका कारण प्राविधिक समस्या देखिएको जानकारी दिइएको छ । सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्ताखत नभए पनि आज उक्त दलको पक्षमा सनाखतका लागि आयोग पुगेका हुन् ।  
 
निर्वाचन आयोगले आजै नेकपा (एकीकृत समाजवादी) लाई दल दर्ताको प्रमाणपत्र दिने बताइएको छ । सनाखतपछि नेता पाण्डेले भने, “दल दर्ता हुनासाथ विगतमा समानान्तर कमिटी भनेर बनाइएका कमिटीलाई ब्युँताएर वडा तहसम्म संरचना विस्तार गर्ने तथा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र इच्छुक पार्टीमा सामेल हुन पाउने व्यवस्था छ, त्यसका लागि काम गर्नेछौँ ।”
 
केही दिनभित्र केन्द्रीय कमिटी बनाउने र राष्ट्रिय सम्मेलनको आयोजना गरेर कार्यक्रमसहित अघि बढ्ने उनले बताए । दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य वा ३१ सांसदको समर्थन आवश्यक पर्दथ्यो । पार्टी अध्यक्ष माधवकुमार नेपालले नेतृत्व गरेको उक्त दलसँगै आयोगमा महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य र सांसदले आजै आयोगमा पुगेर दल दर्ताको मान्यता प्राप्तिका लागि सनाखत गरेका छन् ।