काठमाडौँ । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सरकारले यही भदौ ७ गते पर्ने गाइजात्रा पर्वमा यसअघि काठमाडौँ उपत्यकाका लागि मात्र सार्वजनिक बिदा दिँदै आएकामा सो अवसरमा मुलुकभरका नेवार समुदायका लागिसमेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले यही भदौ १४ गते कृष्णजन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने र सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।
सरकारले काठमाडौँ तराई–मधेस द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न संरचनाको निर्माण गर्न मकवानपुरका कालभैरव र गौरीशङ्कर सामुदायिक वनमा परेका पाँच दशमलव २२ हेक्टर थप राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुख कटाउन स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव डिल्लीराम शर्मालाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । रासस
प्रतिक्रिया