मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नागरिक र मुलुकप्रतिको जिम्मेवारीमा थप गम्भीर बन्न गृहमन्त्रीको निर्देशन

नागरिक र मुलुकप्रतिको जिम्मेवारीमा थप गम्भीर बन्न गृहमन्त्रीको निर्देशन


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले संविधानको पालना गर्दै नागरिकको जीवन रक्षा पहिलो शर्त भएको बताएका छन् । 
 
प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि आइतबार आयोजित भर्चुअल कार्यक्रममार्फत उनले सरकार र प्रहरीबीचको सम्बन्धलाई अझ सुदृढ, सबल र प्रगाढ बनाइ नागरिक र मुलुकप्रतिको जिम्मेवारीमा गम्भीर हुन प्रहरी अधिकृत तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई निर्देशन दिए । 
 
मन्त्री खाँणले आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको उल्लेख गर्दै हिंसा न्यूनीकरणमा गम्भीरतापूर्वक लाग्न पनि प्रहरीलाई निर्देशन दिए । सबै प्रहरीको क्षमता अभिवृद्धि, अपराध नियन्त्रण एवं अनुसन्धानमा प्रविधिको प्रयोग, नवीन भूमिका एवं दायित्वका लागि नेपाल सरकार सकारात्मक रहेको बताउँदै उनले सामाजिक दायित्वको रुपमा आउने बहुआयामिक समस्यालाई सम्बोधन गर्न नेपाल प्रहरी सदैव पहिलो पंक्तिमा रहेर आफ्नो कर्तव्य निर्वाह गरेको स्मरण गरे । 
 
गृहमन्त्री खाँणले कोभिड–१९ सङ्क्रमण नियन्त्रण एवं रोकथामका लागि नेपाल प्रहरीले सञ्चालन गरेको अभियानको सराहना पनि गरे । उनले मुलुकको शान्ति सुव्यवस्थामा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी कर्मचारीको क्षमताको उपयोग गर्नुपर्नेमा जोड दिए । 
 
गृहमन्त्री खाँणले आइतबार प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ सेक्सन, डाटा सेन्टर र केन्द्रीय प्रहरी हेल्थ डेक्सको निरीक्षण गरी त्यहाँको गतिविधिबारे जानकारी लिएका थिए । 
 
सो अवसरमा गृहसचिव टेकनारायण पाण्डेले विभिन्न अप्ठ्यारा परिस्थितिको सामना गर्दै आफ्नो कर्तव्य पालनामार्फत नागरिकको सुरक्षा र राष्ट्रको समृद्धिमा प्रहरी सदैव दृढ संकल्पित हुनुपर्नेमा जोड दिए । उनले प्रहरी संगठनलाई अझ व्यावसायिक, पेसागत, स्रोत साधनयुक्त, प्रविधियुक्त बनाउनुपर्ने बताए । 
 
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संगठनलाई थप व्यावसायिक र उर्जावान बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले अपराध रोकथाम तथा अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मूलभूत दायित्व रहेको बताउँदै कालोबजारी नियन्त्रण तथा विपद्बाट हुने क्षति न्यूनीकरणका लागि नेपाल प्रहरी सदैव कटिबद्ध रहेको उल्लेख गरे । रासस 
 

शेयर गर्नुहोस:

108
Shares