मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

जनताको भावनाअनुसार सरकारले काम गरोस् : ओली

जनताको भावनाअनुसार सरकारले काम गरोस् : ओली


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले जनताको भावनाअनुसार काम गरोस् भन्ने आफ्नो सदिच्छा रहेको बताएका छन् । 
 
अघिल्लो सरकारले अघि बढाएका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उनले खराब नियत राखेर कतिपय कार्यक्रम अघि बढाउन नचाहेपछि बाध्यताले केही कार्यक्रमलाई निरन्तरता दिन आनाकानी गरिएको गुनासो गरे । 
 
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय मागेर बोल्दै अध्यक्ष ओलीले नीति, कार्ययोजना, लक्ष्य र त्यहीअनुसारकै व्यवहार र प्रयास आफ्नो नेतृत्वको सरकारले गरेको जिकिर गरे ।
 
उनले समृद्ध नेपालको राष्ट्रिय आकांक्षा प्राप्त गर्न आफ्नो पार्टीले उदार र फराकिलो भावनाका साथ चुनावी तालमेल र पार्टी एकीकरण गरेको जानकारी दिए । उनले विगतमा प्रतिपक्षसँग पनि संवाद सहमतिको सम्मानपूर्ण अभ्यास गरिएको जिकिर गरे । त्यो बेला सहकार्य गरेर अघि बढ्ने नीति पनि लिइएको उनले जानकारी गराए ।
 
विगतमा गलत कुरासँग कुनै सम्झौता नगर्दा कतिपयको अपेक्षा पूरा नभएको तथा ‘म भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्नँ’ भन्दा कतिलाई धक्का पुगेको र त्यही कारण आफ्नै पार्टीभित्र पनि धक्का पुगेको उनले बताए ।
 
नेता ओलीले आफू देश र जनताको सेवाको निम्ति जन्मिएको तर प्रधानमन्त्री हुन नजन्मिएको जिकिर गरे । काम गर्दै जाँदा प्रधानमन्त्री भएको र अब पनि जनताको जनमतमार्फत मूल ढोकाबाटै सरकारमा सहभागी हुने उनको भनाइ थियो । उनले आफूमाथि विश्वास गरेर सुम्पिएको जिम्मेवारी खोसिएको र त्यस्तो राजनीतिमा कहिलेकाहीँ हुने पनि बताए ।
 
उनले अदालतको निर्णयमाथि बहस हुँदै जाने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीबाट हट्नुपरेकोमा चिन्ता छैन भने । “अदालत जस्तो सबैले विश्वास गर्ने जनताको भरोसाको संस्था असन्तुलित नहोस् भन्नेमा मात्रै मेरो चिन्ता हो, लोकतान्त्रिक प्रणालीका संस्था आ–आफ्नो मर्यादामा बसेर काम गरोस् भन्नेमा मात्रै मलाई चिन्ता छ”, उनले भने ।
 
उनले अहिले राष्ट्रिय उद्देश्यमा केन्द्रित भएको सरकारको आवश्यकता औँल्याए । अघिल्लो सरकारले धेरै राम्रो काम गरेको तथा छिमेकीसँग सन्तुलित व्यवहार गरिएको र राष्ट्रिय सम्मानलाई झुक्न नदिएको उनको जिकिर थियो । अहिले सत्ता र प्रतिपक्ष संवादहीन अवस्थामा पुगेको उनले बताए । कतिपय कामलाई अहिलेको सरकारले नचाहेर पनि निरन्तरता दिएको उनले बताए । रासस