मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच वार्ता, खोप सहायताका निम्ति अनुरोध

प्रधानमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच वार्ता, खोप सहायताका निम्ति अनुरोध


काठमाडौँ । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग आज साँझ भएको  हार्दिकतापूर्ण टेलिफोन वार्तामा थप खोप सहयोगका लागि अनुरोध गरेका हुन् । 
 
अमेरिकी विदेशमन्त्रीले देउवालाई टेलिफोन गरेर उनी प्रधानमन्त्रीमा नियुक्त भएकामा बधाई ज्ञापन गरेको तथा त्यस अवसरमा उनीहरुबीच नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहयोगका विषयका साथै कोभिड १९ खोप सहयोग तथा औषधि उपकरण र स्वास्थ्य सामग्रीको आपूर्तिजस्ता अहिलेको प्राथमिकताका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
कोभिड–१९ विरुद्ध १५ लाखमात्रा खोप सहयोग गरेकामा अमेरिकी सरकारप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले महामारीको तेस्रो लहरको व्यापक आशङ्का भएको सन्दर्भमा बालबालिका र युवा जनसङ्ख्यालाई पुग्नेगरी उपयुक्त खोपको थप व्यवस्थाका लागि आग्रह गरे । 
 
साथै उनले अमेरिकी सरकारबाट नेपालको सामाजिक एवं आर्थिक विकासका निम्ति निरन्तररुपमा  प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गरे । कुराकानीका क्रममा नेपालको विकासका विविध क्षेत्रका प्राथमिकता, अमेरिकी सहयोग र  मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बारे पनि विचारविमर्श भएको मन्त्रालयले आज साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 
विश्वव्यापी तापक्रम वृद्धि तथा जलवायु परिवर्तन र नेपालजस्तो अतिसंवेदनशील पर्वतीय देशको अर्थतन्त्रमा  विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनबाट पर्ने प्रभावबारे दुवै पक्षले छलफल गरेका थिए । प्रधानमन्त्री देउवाले नेपालको लोकतान्त्रिक परिचय, विधिको शासन एवं मानवअधिकारप्रतिको प्रतिबद्धतामा जोड दिए ।
 
प्रधानमन्त्री देउवाले राष्ट्रपति जोसेफ बाइडेन र उपराष्ट्रपति कमला ह्यारिससमक्ष आफ्नो अभिवादन एवं शुभकामना सम्प्रेषण गर्न विदेशमन्त्री ब्लिङ्केनलाई आग्रह गर्दै बाइडेन प्रशासनसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताए । रासस

शेयर गर्नुहोस:

135
Shares