मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रियसभाको बैठक किसानका मुद्दा र कोरोना खोपमा केन्द्रित

राष्ट्रियसभाको बैठक किसानका मुद्दा र कोरोना खोपमा केन्द्रित


काठमाडौँ । राष्ट्रियसभाका सदस्यले सरकारलाई किसान लक्षित कार्यक्रम अघि बढाउन आग्रह गर्दै कोभिड–१९ खोपको उचित व्यवस्थापन र सुनिश्चितता तथा दलबीच असल राजनीतिक संस्कार कायम गरी अघि बढ्न सुझाव दिएका छन् । 
 
राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने सदस्यले अन्तर्राष्ट्रिय सीमालाई व्यवस्थित गर्न, लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न र दल विशेषका कार्यक्रम प्रधानमन्त्री निवासमा नगर्न सल्लाह दिए ।
 
नेपाली कांग्रेसका प्रकाश पन्थले भाषण नभई विकासका आयोजनालाई लक्षित गर्न, मजदूर र किसानलाई लक्षित कार्यक्रम बनाउन, सरकारी निवासमा पार्टीको कार्यक्रम नराख्न, सीमा चुस्त दुरुस्त बनाउन, खोपलाई व्यवस्थित गर्न तथा आर्थिक अनियमितताको छानविन गर्न माग गरे ।
 
नेकपा (एमाले) का खिमलाल भट्टराईले मुलुकको राजनीतिक परिवर्तनका अग्रणी बिपी कोइराला र पुष्पलाल श्रेष्ठको योगदानको स्मरण गर्दै हालसम्म प्राप्त उपलब्धिमाथि अबका दिनमा प्रहार हुने हो कि भन्ने आशङ्का बढेको बताए । 
 
उनले भने, “अदालतको फैसलाबाट सरकार गठन गर्नुपर्ने अवस्था आउनु दुर्भाग्य छ, केपी ओलीको विरोध गरेर यो सरकारले सुख पाउँछ ?” उनले संसदमा एमालेले रचनात्मक भूमिका खेल्ने सुनाए । 
 
यस्तै, नेकपा माओवादी केन्द्रका जगप्रसाद शर्माले परमादेश र जनादेशको बहस मात्र केन्द्रित नहुन सबैमा आग्रह गरे । उनले ओली सरकार आफ्नै कारणले ढलेको स्पष्ट पारे । “देउवा सरकारले कसरी विश्वासको मत प्राप्त ग¥यो भन्ने कुरा एमालेले बुझ्नु जरुरी छ”, सांसद शर्माले भने । 
 
यस्तै, नेकपा एमालेका भगवती न्यौपानेले एमालेले न्यायालयको फैसलाको सम्मान गरे पनि सो फैसलाप्रति असहमति रहेको उल्लेख गरिन् । “अदालतको फैसला निर्दलियताको पक्षमा छ, सीधै प्रधानमन्त्री तोक्नु गलत हो, यसमा तार्किक ढङ्गले बहस गरिनुपर्छ”, सांसद न्यौपानेले भनिन् । 
 
यसैगरी, नेकपा एमालेका रामचन्द्र राईले प्रधानमन्त्री देउवाले विगतका गल्तीबाट पाठ सिक्नुपर्ने बताए । ओली सरकारले पहल गरेको खोपको सुनिश्चितता गर्दै सबैलाई खोप उपलब्ध गराउन उनले माग गरे । 
 
यस्तै, नेकपा (एमाले) का सांसद शेरबहादुर कुँवरले रोजगारका लागि दक्षिण कोरिया जान खोजेका युवा अलपत्र परेकामा सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । “यो विषयलाई सरकारले सम्बोधन गर्नुपर्छ”, उनले भने । विदेशबाट फर्किएका युवालाई वैकल्पिक रोजगारको व्यवस्था गर्न सांसद कुँवरले सरकारसँग माग गरे । 
 
यस्तै, नेकपा माओवादी केन्द्रका सांसद विना पोखरेलले कोरोना भाइरसविरुद्धको खोपको सुनिश्चितता गर्न सरकारसँग माग गरिन् । यसैगरी नेकपा एमालेका सांसद दिलकुमारी थापा रावलले सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै सो फैसलाले अराजकता फैलाउने आशङ्का रहेको बताइन् । कोरोना सङ्क्रमण बढिरहेका अवस्थामा सरकारको त्यसतर्फ ध्यान जानुपर्नेमा उनले जोड दिइन् । “ज्येष्ठ नागरिकलाई सहजै खोपको व्यवस्था गर्नुपर्छ”, सांसद रावलले भनिन् । 
 
यस्तै नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले केपी शर्मा ओली सत्ताबाट आफ्नै कारणले बाहिरिएको बताए । उनले ओलीले आफूले गरेको गल्तीको आत्मआलोचना गर्नुपर्नेमा जोड दिए । सर्वोच्चको फैसलाबारे निरर्थक बहस गर्न नहुने सांसद् देवको भनाइ थियो । रासस