मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

असन्तुष्ट पक्षलाई एकतामा आउन अध्यक्ष ओलीको आग्रह

असन्तुष्ट पक्षलाई एकतामा आउन अध्यक्ष ओलीको आग्रह


 
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक जीवन र कम्युनिस्ट आन्दोलन जोगाउनुपर्नेमा जोड दिँदै असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गरेका छन् । 
     
केन्द्रीय कमिटीको जारी १० पूर्ण बैठकको तेस्रो दिन अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्न आफू तत्पर रहेको स्पष्ट गरे । 
 
सर्वोच्च अदालतको फैसला संसदीय व्यवस्थानुकूल नभएको टिप्पणी गर्दै जनताको चाहनालाई कुल्चेर केही नेताले गद्दारी गरेकाले आफ्नो नेतृत्वको सरकार ढलेको गुनासो पोखे  । “मसँग अब अरु आग्रह छैन । म एकताको मोही अझै मथ्दै छु । सकभर सत्ता गठबन्धनमा लागेका सबै पार्टीका नेतालाई आफ्नो राजनीतिक जीवन बचाउन अनुरोध गर्छु”, अध्यक्ष ओलीले बैठकमा भनेका थिए ।  
 
पार्टीको नीतिविपरीत नेपाली काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसद्लाई स्पष्टीकरण सोधेको एमालेले त्यसबारे जवाफ आएपछि निर्णय गर्ने प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
     
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी सो पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियानलगायत विषय कार्यसूची रहेका छन् ।
 
आजको बैठकले संविधानको धारा ७६ (५) को सरकार बनाउँदा दलीय ह्विप नलाग्ने फैसला गरेकाले उक्त दफालाई संशोधन गर्न पहल गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । 
 
बैठकले ओली नेतृत्वको सरकारले विविध चुनौतीका बीच विकास र समृद्धिका पक्षमा उपलब्धि हासिल गरेको र प्रतिपक्षमा रहेर संविधान, लोकतन्त्र र राष्ट्रियताका सम्बन्धमा सशक्त र प्रभावकारी काम गर्ने निर्णय गरेको छ । नेता ज्ञवालीले हालको स्थितिबाट निराश नहुन कार्यकर्तालाई आग्रह गर्दै पार्टीको शक्ति पुनःफर्काइने बताए । रासस