बिश्व घटना

भारतमा अझै चार महिना कोरोनाविरुद्ध लड्न गाह्रो

भारतमा अझै चार महिना कोरोनाविरुद्ध लड्न गाह्रो


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसविरुद्ध लड्न अझै १०० देखि १२५ दिन अर्थात् चार महिना गाह्रो रहेको विश्लेषण गरिएको छ ।  
 
केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा आगामी केही समय अझै पनि खतरापूर्ण अवस्था रहेको जानकारी दिइएको हो । 
 
“सङ्क्रमितहरुको सङ्ख्या त दिनप्रति दिन घट्दै गइरहेको छ, तर पूर्ण रुपमा न्यूनीकरण भइसकेको अवस्था भने छैन, अझै पनि खतरापूर्ण अवस्था नै रहेको छ”, नीति आयोगका सदस्य डा. भि के पौलले भने । उनले खोपको प्रभावकारिता बढी रहेको भए पनि प्रहरीहरु उच्च जोखिममा रहेको पनि पत्रकारलाई जानकारी दिए । 
 
महामारीको दोस्रो चरणको बेलामा दुवै खोप लगाएकाहरुको जीवन जोगाउन खोप ९५ प्रतिशत सफल भएको पाइएको छ । “एउटा मात्रै खोप लगाएकालाई भने ८२ प्रतिशतसम्म खोप उपलब्धीमूलक भएको पाइएको छ”, डा पौलले भने । 
 
जुलाई महिना भित्रमा ५० करोड खोप लगाइसक्ने योजना रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । खोप लगाएकाहरुको सङ्ख्या बढ्दै गएकाले विस्तारै महामारी न्यूनीकरण हुँदै जाने अपेक्षा गरिएको छ ।
 
सरकारले कोभिसिल्ड र कोभ्याक्सीनको ६६ करोड मात्रा खोप मगाइसकिएको जनाएको छ । त्यसैगरी २२ करोड खोप निजी क्षेत्रले उपलब्ध गराउने निर्णय पनि भएको छ । एएनआई