मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्र बढाउन निर्देशन

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्र बढाउन निर्देशन


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणलाई सहजरूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका छन् ।   
 
खोप केन्द्रमा लामो लाइन भएको गुनासो सुनिएपछि उनले आज नेपाल मुख्यसचिव शङ्करदास वैरागी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई बोलाई सो निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 
प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउनसमेत निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले पद बहाली गरेलगत्तै पहिलो मन्त्रिपरिषद् बैठकबाट आगामी चैत भित्र खोप लगाउन आवश्यक पर्ने सबै समूहका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइ सक्ने निर्णय गरेका थिए । 
 
यसैबीच, चीन सरकारले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ । 
 
प्रधानमन्त्री शेरबहादुर देउवासँग आज प्रधानमन्त्री निवासमा आज अपराह्न भएको शिष्टाचार भेटमा नेपालका लागि चीनका राजदूत हउ यान्छीले चीन सरकारको हालैको उक्त निर्णयबारे जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवाले खोप सहायताका निम्ति चिनियाँ सरकारप्रति आभार प्रकट गर्दै कोभिड–१९ विरुद्धको प्रतिकार्य र पुनःआरोग्य प्राप्तिमा नेपाललाई थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
 
त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो । राजदूत यान्छीले खोपसहायतालगायत अन्य माध्यमबाट पनि कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा चीनबाट निरन्तर सहयोग हुने प्रतिबद्धता व्यक्त गरेको उक्त मन्त्रालयले बताएको छ । रासस