काठमाडौँ । विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनुपर्ने जनाएको छ ।
पार्टीले पछिल्लो समयमा निरन्तर प्रधानमन्त्री ओलीको कठपुतली बनेर राष्ट्रपति भण्डारीले संविधानमाथिको मनपरीलाई जसरी पनि साथ दिँदै आएको भन्दै विज्ञप्तिमार्फत् राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्ने जनाएको हो ।
विज्ञप्तिमा त्यसलाई मध्यनजर गर्दा पुनःस्थापित संसद्ले उनीमाथि महाअभियोग लगाउनुपर्छ भन्ने विवेकशील साझा पार्टीको ठहर रहेको उल्लेख गरेको छ । पार्टीले आज जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतको फैसलाले राष्ट्रपति भण्डारीले गरेको प्रतिनिधिसभा विघटन संविधान प्रतिकूल भएको भन्दै बदर गरिदिएको भन्दै फैसलाको स्वागत गरेको हो ।
सर्वोच्चको फैसलाले प्रधानमन्त्री केपी ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समयमा संविधानमाथि लगातार रूपमा गर्दै आएको मनपरी प्रहारलाई स्पष्टसँग संवैधानिक अनुशासनमा बाँधिदिएको विज्ञप्तिमा उल्लेख छ ।
फैसलाले नेपालको वस्तुगत परिस्थितिलाई मध्यनजर गर्दै संसद्को स्थिरता र पूर्ण कार्य अवधिका लागि संविधानमा गरिएका विशेष व्यवस्थाहरूलाई अनुमोदन गरेको पार्टीले जनाएको छ । अर्को सरकार गठनको सम्भावना कायम रहेसम्म जन–निर्वाचित संसद्लाई प्रधानमन्त्रीले आफ्नो मन खुसीमा विघटन गरी देशको ठूलो ढुकुटी खर्च हुने गरी चुनावमा लैजान निरुत्साहित गर्दै संसद्ले आफ्नो कार्यकाल पूरा गर्न पाउनु पर्छ भन्ने मान्यतालाई पनि फैसलाले स्थापित गरिदिएको छ।
यद्यपि, सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरूलाई दलको ह्विप नलाग्ने ठहर गर्नुका साथै ‘फलानो व्यक्ति’ लाई प्रधानमन्त्री बनाएर ’दुई दिनभित्र’ शपथ ग्रहण गराउनु भन्नेजस्ता विषयहरूमा पनि प्रवेश गर्दा त्यसले भविष्यमा स्थापित गर्न सक्ने नजिर भने अनुकूल नहुन सक्ने पार्टीको ठहर छ ।
प्रतिक्रिया